पर्सा । पर्साको पकाहाँ मैनपुर गाउँपालिका वडा नं. १ स्थित धोरे नाकामा तस्करीको सामान नियन्त्रणमा लिने क्रममा विवाद उत्पन्न भएको छ।
प्राप्त जानकारीअनुसार भारतको भेलाही बजार बाट अवैध रूपमा ल्याइएको किराना सामग्री स्थानीय तस्करहरूले धोरे नाका हुँदै नेपाल भित्र्याउन लागेका थिए। सो क्रममा सशस्त्र प्रहरी बल नेपाल वीरगञ्जबाट खटिएको प्रहरी टोलीले उक्त सामान नियन्त्रणमा लिएर लैजान थालेपछि स्थानीय केही व्यक्तिहरूले विरोध जनाएका हुन्।
विवादका क्रममा धोरे गाउँका केही बासिन्दाले बाटोमा बैलगाडा लगायतका सामग्री राखेर आवत–जावत अवरुद्ध गरेका छन्। साथै उनीहरूले प्रहरीमाथि आक्रमण गर्ने चेतावनीसमेत दिएको स्थानीय स्रोतले जनाएको छ।
घटनापछि क्षेत्रमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीहरूले आवश्यक पहल गरिरहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।