इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनी युद्धका क्रममा घाइते भएको समाचार फैलिरहेका बेला उनी सुरक्षित र स्वस्थ रहेको दाबी इरानी राष्ट्रपतिको छोराले गरेका छन् । इजरायल र संयुक्त राज्य अमेरिकासँगको जारी युद्धको पृष्ठभूमिमा यस्तो दाबी सार्वजनिक गरिएको हो ।
इरानी राष्ट्रपतिको छोरा तथा सरकारी सल्लाहकार युसेफ पेजेस्कियानले बुधबार आफ्नो टेलिग्राम च्यानलमार्फत मोजताबा खामेनीको अवस्थाबारे टिप्पणी गर्दै उनी घाइते भएको खबर आफूले पनि सुनेको तर त्यसको पुष्टि नभएको बताएका छन् । उनका अनुसार आफूले सम्पर्कमा रहेका केही व्यक्तिसँग सोधपुछ गर्दा उनीहरूले खामेनी सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका छन् ।
“मैले मोजताबा खामेनी घाइते भएको खबर सुनेको थिएँ । मैले सम्पर्क भएका केही साथीहरूलाई सोधेको छु । उनीहरूले भगवानको कृपाले उहाँ सुरक्षित र स्वस्थ हुनुहुन्छ भन्ने बताएका छन्”, पेजेस्कियानले सामाजिक सञ्जालमार्फत लेखेका छन् ।
यसअघि सरकारी टेलिभिजनले खामेनीलाई ‘रमजान युद्धका घाइते पूर्व सैनिक’ भनेर उल्लेख गरेको थियो । तर उनी कहिले र कसरी घाइते भएका हुन् भन्नेबारे भने कुनै स्पष्ट विवरण दिइएको थिएन ।
मोजताबा खामेनी इस्लामिक गणतन्त्रका लामो समयसम्म सर्वोच्च नेता रहेका आयातुल्ला अली खामेनीका छोरा र उत्तराधिकारी हुन् । आयातुल्ला अली खामेनीको फेब्रुअरी २८ मा इरानमाथि गरिएको अमेरिका–इजरायल संयुक्त आक्रमणमा मृत्यु भएपछि मोजताबालाई नयाँ सर्वोच्च नेताका रूपमा अघि सारिएको हो । उक्त घटनापछि नै मध्यपूर्व क्षेत्रमा व्यापक युद्ध सुरु भएको थियो ।
छपन्न वर्षीय मोजताबा खामेनी सामान्यतः सार्वजनिक जीवनमा कम देखिने व्यक्तित्वका रूपमा चिनिन्छन् । उनी सार्वजनिक कार्यक्रममा विरलै देखिन्छन् र प्रायः आधिकारिक कार्यक्रममा बोल्न पनि कमै देखिएको बताइन्छ ।
आइतबार सर्वोच्च नेता घोषणा गरिएपछि पनि उनले राष्ट्रलाई औपचारिक सम्बोधन गरेका छन् । साथै हालसम्म उनका तर्फबाट कुनै लिखित वक्तव्य पनि सार्वजनिक भएको छैन, जसले उनको अवस्थाबारे विभिन्न अनुमानहरू फैलिन मद्दत गरेको छ ।
यसैबिच अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले बुधबार प्रकाशित गरेको एक रिपोर्टमा तीन जना नाम नखुलाइएका इरानी अधिकारीहरूलाई उद्धृत गर्दै मोजताबा खामेनी घाइते भएको उल्लेख गरेको थियो । उक्त रिपोर्टअनुसार उनको खुट्टामा चोट लागेको थियो, तर उनी सचेत अवस्थामा रहेको र सीमित सञ्चारका साथ अत्यन्त सुरक्षित स्थानमा बसिरहेको बताइएको छ ।