पर्सा । पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रमाडोल सहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकस्थित प्रहरी चेकपोस्टमा सवारी चेकजाँचका क्रममा ना ७ ख ७६८६ नम्बरको ट्रक रोकी जाँच गर्दा लुकाइछिपाइ राखिएको ४२,३०० क्याप्सुल ट्रामाडोल बरामद भएको हो।
प्रहरीले उक्त औषधिसहित बारा पचरौता नगरपालिका–९ बस्ने ४२ वर्षीय राम अशिष राउत अहिर र पर्सा बहुदरमाई नगरपालिका–२ सिसियाडी बस्ने ३० वर्षीय सुवास सर्राफलाई नियन्त्रणमा लिएको जनाएको छ।
बरामद औषधिसहित पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ट्रामाडोल सामान्यतया मध्यमदेखि गम्भीर दुखाइ कम गर्न प्रयोग हुने ओपिओइड समूहको औषधि हो, तर यसको दुरुपयोग हुने सम्भावना भएकाले धेरै देशमा यसको प्रयोग कडाइका साथ नियन्त्रण गरिन्छ।
जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलन गरी उक्त घटनाबारे विस्तृत जानकारी गराएको हो।
प्रहरीले पछिल्लो समय लागूऔषधको अवैध कारोबार नियन्त्रण गर्न सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा सवारी साधन चेकजाँच कडा बनाइएको पनि जनाएको छ।