विरगंज । अन्तिम अवस्थाको क्यान्सरबाट पीडित बिरामीमाथि अनावश्यक शल्यक्रिया गरिएको आरोपमा वीरगञ्जस्थित प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिका चिकित्सक डा. मनोज कुमार गुप्तामाथि नेपाल मेडिकल काउन्सिलले कारबाही गरेको छ। बिरामीको हितभन्दा विपरीत हुने उपचार गरेको ठहर गर्दै काउन्सिलले उनलाई निगरानीसहित अनुशासनात्मक कारबाही गर्ने निर्णय गरेको हो।
नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतिश कुमार देवका अनुसार बाराका ३७ वर्षीय सुरेश शाह कानुको मृत्यु प्रकरणमा छानबिन गर्दा चिकित्सकबाट गम्भीर लापरबाही भएको निष्कर्ष निकालिएको हो। डा. गुप्ताको नेपाल मेडिकल काउन्सिलमा दर्ता नम्बर ४७१८ रहेको छ।
के थियो घटना ?
यो घटना २०८० साल कात्तिक महिनाको हो। पित्तथैलीको समस्या देखिएपछि सुरेश शाह कानु उपचारका लागि वीरगञ्जस्थित प्रभु हस्पिटल पुगेका थिए। अस्पतालमा पुगेपछि डा. गुप्ताले कात्तिक २० गते ‘ल्याप्रोस्कोपिक कोलसिस्टेक्टोमी’ प्रविधिबाट पित्तथैली निकाल्ने शल्यक्रिया गरेका थिए।
तर शल्यक्रिया गर्नु दुई दिनअघि गरिएको कन्ट्रास्ट एन्हान्स्ड कम्प्युटेड टोमोग्राफी (सीईसीटी) रिपोर्टले बिरामीमा ‘एडभान्स्ड गलब्लाडर क्यान्सर’ भएको र क्यान्सर शरीरका अन्य भागमा समेत फैलिसकेको स्पष्ट देखाएको थियो।
चिकित्सा विज्ञानका अनुसार यस्तो अवस्थामा सामान्य शल्यक्रिया प्रभावकारी हुँदैन, बरु बिरामीको अवस्था थप जटिल बन्ने जोखिम बढ्छ। तर डा. गुप्ताले बिरामीका आफन्तलाई रोगको वास्तविक अवस्था र शल्यक्रियाबाट हुने जोखिमबारे स्पष्ट जानकारी नदिई अपरेसन गरेको काउन्सिलको निष्कर्ष रहेको छ।
यता उक्त विषयमा प्रतिक्रिया लिन खोज्दा डा. गुप्ताले आफूलाई काउन्सिलबाट गरिएको कारबाहीबारे कुनै औपचारिक जानकारी प्राप्त नभएको बताएका छन्।
छानबिनमा भेटिए गम्भीर त्रुटि
- नेपाल मेडिकल काउन्सिलको १२औँ पूर्ण बैठकले चिकित्सकको काममा तीन प्रमुख त्रुटि औँल्याएको छ।
- क्यान्सर फैलिसकेको र शल्यक्रिया उपयुक्त नहुने अवस्थामा पनि अपरेसन गरिएको पाइएको छ, जसले चिकित्सा मापदण्डको उल्लंघन गरेको ठहर गरिएको छ।
- वीरगञ्जमै बायोप्सी सेवा उपलब्ध हुँदाहुँदै अन्य रिपोर्टसँग मेल नखाने गरी विदेशबाट बायोप्सी रिपोर्ट ल्याइएको भेटिएको छ, जसले रिपोर्टको विश्वसनीयतामाथि नै प्रश्न उठाएको काउन्सिलको भनाइ छ।
- बिरामीका आफन्तलाई रोगको अवस्था, उपचारका विकल्प र जोखिमबारे पर्याप्त जानकारी नदिइएको पनि छानबिनमा खुलेको छ।
काउन्सिलको कारबाही
उपचार प्रक्रियामा गम्भीर लापरबाही देखिएको निष्कर्षसहित नेपाल मेडिकल काउन्सिलले डा. गुप्तालाई ६ महिनासम्म ‘जीआई अन्को सर्जरी’ सम्बन्धी काममा कडा निगरानीमा राख्ने निर्णय गरेको छ।
यस अवधिमा उनले अनिवार्य रूपमा मान्यता प्राप्त संस्थाबाट थप क्लिनिकल तालिम लिनुपर्नेछ र आफ्नो प्रगतिको नियमित प्रतिवेदन काउन्सिलमा बुझाउनुपर्नेछ। साथै, सम्बन्धित अस्पतालमा सो सेवा सञ्चालन गर्नुअघि काउन्सिलबाट पूर्व स्वीकृति लिनुपर्ने सर्त पनि राखिएको छ।
काउन्सिलका अनुसार यस निर्णयले चिकित्सा पेशामा मनोमानी गर्ने र बिरामीको स्वास्थ्यमा लापरबाही गर्ने चिकित्सकलाई स्पष्ट सन्देश दिएको छ। काउन्सिलले तोकिएका सर्त पालना नगरे थप कडा कारबाही हुन सक्ने चेतावनी पनि दिएको छ।