युरोपेली प्रतिबन्ध छल्न प्रयोग गरिएको भनिएको रुसको ‘छाया जहाज’का क्याप्टेनलाई स्वीडेनको एक अदालतले हिरासतमा राख्न आदेश दिएको छ । स्वीडेनको यस्टाडस्थित अदालतमा पेस गरिएका ती रुसी नागरिकलाई नक्कली कागजात प्रयोग गरेको आशङ्कामा पक्राउ गरिएको हो ।
उनको नाम सार्वजनिक गरिएको छैन । उनलाई शुक्रबार स्विडिस अभियोजन प्राधिकरणले पक्राउ गरेको थियो ।
स्वीडेनको तटरक्षक बलले सी आउल वन नामक तेल ट्याङ्करमा चढेर जाँच गर्दा जहाजले कोमोरोसको झण्डा प्रयोग गरेको पाइयो, तर उक्त झण्डा नक्कली हुनसक्ने आशङ्का गरिएको छ । २२८ मिटर लामो उक्त ट्याङ्कर युरोपेली सङ्घले प्रतिबन्ध लगाएका जहाजहरूको सूचीमा पनि रहेको बताइएको छ ।
उक्त जहाज ब्राजिलको सान्तोसबाट प्रिसोर्स्कतर्फ जाँदै गर्दा स्वीडेनको जलक्षेत्रमा नियन्त्रणमा लिइएको थियो। । तटरक्षक बलका अनुसार यो जहाजले पछिल्ला वर्षहरूमा रुस र ब्राजिलबीच तेल ढुवानी गरेको थियो ।
अभियोजन कार्यालयका अनुसार ५५ वर्षीय क्याप्टेनलाई सामान्यतया १४ दिनसम्म हिरासतमा राखिने प्रावधानअनुसार नियन्त्रणमा राखिएको छ र थप सोधपुछ गरिनेछ ।
जहाजलाई स्वीडेनको दक्षिणी भागमा रहेको ट्रेलेबोर्गनजिक बिहीबार साँझ तटरक्षकले रोकेको थियो । जाँचका क्रममा जहाज कोमोरोसको आधिकारिक जहाज दर्ता सूचीमा नभएको देखिएकाले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन भएको आशङ्का गरिएको छ ।
क्याप्टेनले देखाएका कागजात पनि नक्कली जस्तो देखिएपछि अधिकारीहरूको शङ्का थप बलियो भएको थियो । स्वीडेनस्थित रुसी दूतावासका अनुसार जहाजमा रहेका २४ नाविकमध्ये १० जना रुसी नागरिक हुन् भने बाँकी इन्डोनेसियाका हुन् । दूतावासले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ ।
यसैबिच, एक साताभित्र स्वीडेनले रुसको ‘छाया जहाज’ भएको आशङ्कामा जहाज नियन्त्रणमा लिएको यो दोस्रो घटना हो । यसअघि मार्च ६ मा क्याफा नामक गिनी झण्डा लगाएको जहाजलाई पनि नियन्त्रणमा लिइएको थियो । उक्त जहाजले युक्रनेबाट चोरी गरिएको अन्न बोकेको हुनसक्ने आशङ्का गरिएको छ ।