पर्सा । पर्साको पर्सागढी नगरपालिका–३ बिरुवाचोकमा श्रीमानले आफ्नै श्रीमतीमाथि अमानवीय यातना दिँदै धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन्।
आइतबार बिहान करिब ७ बजे स्थानीय विश्वनाथ सहनी र उनकी श्रीमती हरिकला सहनीबीच घरायसी विषयलाई लिएर विवाद भएको थियो। विवाद चर्किँदै जाँदा सहनीले श्रीमतीका दुवै हात र मुख बाँधेर चरम यातना दिँदै धारिलो हतियारले प्रहार गरेका थिए। प्रहारका कारण हरिकलाको एक खुट्टा काटिएको अवस्थामा गम्भीर घाइते भएकी छन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बडनिहारबाट प्रहरी सहायक निरीक्षक सञ्जय पाण्डेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा पुग्दा हरिकला अत्यधिक रक्तश्रावका कारण गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घाइते हरिकलालाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटना लगत्तै आक्रमणकारी विश्वनाथ सहनी फरार भएका छन्। इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीका अनुसार फरार सहनीको खोजी कार्य तीव्र रूपमा भइरहेको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ