वीरगञ्ज । प्रहरी कर्मचारीहरूको मानसिक मनोबल उच्च बनाउन र कार्यक्षेत्रमा हुने तनाव व्यवस्थापनका लागि वीरगञ्जमा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। "तत्पर प्रहरी, स्वस्थ मन, सुरक्षित राष्ट्र" भन्ने मूल नाराका साथ जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका इकाइमा कार्यरत ५० जना जुनियर प्रहरी अधिकृतहरूलाई प्रशिक्षित गरिएको हो।
नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौलागाईंको आयोजनामा भएको उक्त कार्यक्रममा नारायणी अस्पतालका वरिष्ठ परामर्शदाता डा. नीरज कुमार सिंहले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो। प्रशिक्षणका क्रममा डा. सिंहले प्रहरी सेवामा आइपर्ने मनोवैज्ञानिक चुनौती, मानसिक स्वास्थ्यको महत्त्व र कार्यसम्पादनका क्रममा तनावलाई कसरी न्यूनीकरण गर्ने भन्नेबारे व्यावहारिक जानकारी गराउनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीले प्रहरीको दैनिक कार्यशैली चुनौतीपूर्ण हुने उल्लेख गर्दै यस्ता प्रशिक्षणले सेवाको प्रभावकारिता बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। नागरिक सुरक्षामा अहोरात्र खटिने प्रहरीका लागि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर गरिएको यो पहललाई सहभागीहरूले सकारात्मक रूपमा लिएका छन्।