वीरगञ्ज । वीरगञ्जका मुख्य सडकहरूमा फुटपाथ पसलेहरूले अतिक्रमण गर्दा पैदलयात्रीहरूलाई आवत–जावत गर्न निकै कठिनाइ भएको छ। फुटपाथमा हिँड्नुपर्ने सर्वसाधारणलाई पसलेहरूले सामान बाहिर राखेर बिक्री गर्न थालेपछि सडकमा झर्न बाध्य हुनुपरेको गुनासो बढ्दै गएको छ।
वीरगञ्जका विभिन्न बजार क्षेत्रका पसलहरूले कपडा, जुत्ता–चप्पल लगायतका सामग्री पसलभित्र राखेर बिक्री गर्नुको सट्टा फुटपाथमै झुण्ड्याएर वा थुपारेर राख्दा पैदलयात्रीका लागि बनाइएको बाटो नै साँघुरो बनेको छ। यसले गर्दा पैदल हिँड्ने मानिसहरू सवारी साधन चल्ने सडकमा हिँड्न बाध्य भएका छन्, जसले दुर्घटनाको जोखिमसमेत बढाएको स्थानीयले बताएका छन्।
स्थानीय बासिन्दा तथा दैनिक आवत–जावत गर्ने सर्वसाधारणले फुटपाथ अतिक्रमणका कारण बजार क्षेत्रमा हिँडडुल गर्न असहज भएको गुनासो गरेका छन्। उनीहरूका अनुसार बजार क्षेत्रमा केही पसलहरूले फुटपाथलाई नै व्यापार गर्ने स्थानका रूपमा प्रयोग गर्न थालेपछि पैदलयात्रीका लागि समस्या झन् बढेको हो।
बाटो हिँडिरहेका रामराज यादव भन्छन् “फुटपाथमा हिँड्ने ठाउँ नै छैन। पसलहरूले सामान बाहिर राखेका कारण हामी सडकमै हिँड्नुपर्छ। सवारी साधन धेरै हुने भएकाले दुर्घटनाको डर पनि हुन्छ। सम्बन्धित निकायले यसतर्फ ध्यान दिनुपर्छ।”
सर्वसाधारणले वीरगञ्ज महानगरपालिकासहित सम्बन्धित निकायले फुटपाथ अतिक्रमण हटाएर पैदलयात्रीलाई सहज रूपमा हिँड्ने वातावरण बनाउन आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन्। स्थानीय प्रशासनले समय–समयमा अनुगमन गरे पनि समस्या पूर्ण रूपमा समाधान हुन नसकेको सर्वसाधारणको भनाइ छ।
यसैबीच वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको सचिवालयले नगर प्रहरीले फुटपाथ अतिक्रमण हटाउने अभियान चलाइरहेको जनाएको छ। सचिवालयका अनुसार केही स्थानमा नगर प्रहरीले अनुगमन गरी बाटो अवरोध गर्ने तीन–चार जना पसल सञ्चालकलाई पहिलो पटकका लागि सम्झाइ–बुझाइ गरेर छोडिएको छ।
सचिवालयले आगामी दिनमा पुनः त्यस्तो कार्य दोहोर्याउने पसलवालामाथि कानुनअनुसार जरिवाना गरिने चेतावनीसमेत दिएको छ। महानगरपालिकाले पैदलयात्रीलाई सहज रूपमा हिँड्न मिल्ने वातावरण बनाउन फुटपाथ अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।