वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता मनोज चौधरी पक्राउ प्रकरणलाई लिएर मंगलबार वीरगंजमा सर्वदलीय बैठक सम्पन्न भएको छ। नेकपाकाे आयाेजना बसेकाे सर्वदलिय बैठकले चौधरी पक्राउ सम्बन्धमा साझा धारणा बनाउने निर्णय गरेको हो।
बैठकले पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको राजनीतिक दल र नेताप्रति दृष्टिकोण सकारात्मक नरहेको निष्कर्ष निकाल्दै सोही कारण चौधरी पक्राउ प्रकरणमा राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ।
पर्साका विभिन्न राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको बैठकले प्रहरी उपरीक्षक पाठकको कार्यशैली र व्यवहारप्रति असन्तुष्टि जनाउँदै बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष डेलिकेसन जाने निर्णय समेत गरेको छ।
त्यसैगरी, बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका मनोज चौधरीले आफ्नै गाडीमा बम राखेर हिँड्न नसक्ने भन्दै उनलाई फसाउन षड्यन्त्र गरिएको हुन सक्ने निष्कर्ष निकालेको छ। साथै, घटनाको यथाशीघ्र निष्पक्ष अनुसन्धान गरी पर्सा जिल्ला अदालतमा अनुसन्धान प्रतिवेदन पेश गर्न माग गर्ने निर्णय गरिएको बैठकमा सहभागी नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले जानकारी दिए।
बैठकका निर्णयहरू भोलि बुधबार संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने र सोही दिन प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग भेटेर आफ्ना मागहरू पेश गर्ने निर्णय समेत भएको उनले बताए।
नेपाल पत्रकार महासंघ, वीरगंजस्थित सभा हलमा बसेको बैठकमा नेकपाका केन्द्रीय सदस्यहरू नागेन्द्र चौधरी, रामचन्द्र साह, बालगोपाल थापा, बृजलाल पासवान, पिएल श्रेष्ठ, गंगा खड्का, नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, नेकपा एमालेका सुन्दर कुर्मी, नेकपा पर्साका रामदरश कुशवाहा, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सचिव पानालाल पटेल, जनता समाजवादी पार्टीका तबरेज अहमद, प्रगतिशील लोकतान्त्रिक पार्टीका अमिताभ बचन दास, वैज्ञानिक समाजवादी कम्युनिष्टी पार्टीका पर्सा जिल्ला संयाेजक धन बहादुर श्रेष्ठ, राष्ट्रिय जनमाेर्चाका पर्साका जिल्ला संयाेजक हिमाल चन्द्र गाैतम लगायतको उपस्थिति रहेको थियो।
फागुन १९ गते नेता चाैधरी सवार बा १० च १२५० नम्बरकाे गाडीमा शंकास्पद फेला परेकाे आराेपमा १५ दिनदेखि मनाेज नेता चाैधरी सहित नेकपा नेता सत्यनारायण थारु, सुरज कार्की र गाडी चालक साहब आलम अन्सारी जिल्ला प्रहरी कार्यालय पर्साकाे हिरासतमा छन् ।