वीरगन्ज । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मनोज कुमार चौधरीलाई षड्यन्त्रपूर्वक प्रहरी हिरासतमा राखेको भन्दै पर्साका राजनीतिक दलहरुले विरोध जनाएका छन् ।
नेकपाका केन्द्रीय सदस्य तथा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मनोज कुमार चौधरीलाई सुनियोजित षडयन्त्रको सिकार बनाइएको भन्दै तत्काल रिहाइको माग गरेको छ।
बुधबार पर्सामा क्रियाशील एकदर्जन राजनीतिक दलहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै १६ दिनदेखि अनुसन्धानको बहानामा हिरासतमा राखेर राजनीतिक व्यक्तित्वमाथि मनोवैज्ञानिक दबाब दिने र चरित्र हत्या गर्ने काम भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
गत फागुन १९ गते निर्वाचनको दुई दिनअघि वीरगंज फर्किने क्रममा सुरक्षा जाँचका बेला चौधरी सवार गाडीको डिकीमा शंकास्पद वस्तु फेला परेको दाबी गर्दै प्रहरीले उनीसहित चार जनालाई नियन्त्रणमा लिएको थियो।
यति लामो समय बितिसक्दा पनि बरामद वस्तु के हो, कसले र किन राखेको हो भन्ने ठोस प्रमाण जुटाउन नसक्नुले घटना नियतवश रचिएको आशंकालाई बल पुर्याएको विज्ञप्तिमा उल्लेख छ।
एक जिम्मेवार राजनीतिक अगुवा र उम्मेदवारले आफैं विस्फोटक पदार्थ बोकेर हिड्ने कुरा पत्याउन नसकिने भन्दै पार्टीले यसलाई विपक्षी वा अन्य पक्षको ठूलो राजनीतिक षडयन्त्रको रूपमा चित्रण गरेको छ।
पार्टीले घटनालाई थप जटिल बनाउन अन्य ठाउँमा भेटिएका वस्तुसँग जोडेर भ्रम फैलाउन खोजिएको भन्दै आपत्ति जनाएको छ। निर्दोष व्यक्तिहरूलाई अपराधी करार गर्ने प्रयास नगर्न र अविलम्ब न्यायिक समाधानका लागि प्रक्रिया अगाडि बढाउन प्रशासनलाई कडा चेतावनी दिइएको छ।
न्यायमा ढिलाइ गर्नु न्याय नदिनु सरह हुने स्पष्ट पार्दै विज्ञप्तिमा भनिएको छ कि यो सदासयतालाई कमजोरी ठानिएमा र तत्काल रिहाइ नगरिएमा पार्टी कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने पनि विज्ञप्ति मार्फत जनाईएको छ ।
लामो समयदेखि राजनीतिमा क्रियाशील इमान्दार छविका नेता चौधरीलाई षड्यन्त्रमुलक ढंगबाट लामो समयसम्म हिरासतमा राखेको भन्दै अन्य राजनीतिक दलहरुले पनि उनको रिहाईको माग गरेका छन् । निर्वाचनको नाममा स्थानीय प्रशासनले नागरिक र राजनीतिक दलप्रति गरेको व्यवहार संतोषजनक नरहेको पनि राजनीतिक दलहरुको निष्कर्ष छ ।
चौधरी पक्राउ परेपछि भोलीपल्ट नेकपाका नेताहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई भेट्न खोज्दा समेत भेट नदिएको, कुनैपनि राजनीतिक दलप्रति प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी उपरीक्षक सुदीपराज पाठक जिम्मेवार नबनेको पर्साका राजनीतिक दलका नेताहरुको बुझाई छ ।