काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले पर्यटकीय भिसामा नेपाल आएका विदेशी खेलाडीहरूलाई फुटबल प्रतियोगितामा सहभागी नगराउन निर्देशन दिएको छ। बिहीबार (चैत ५) विभागले अखिल नेपाल फुटबल संघ ९एन्फा० लाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो।
विभागका अनुसार राष्ट्रिय महिला तथा पुरुष लिग फुटबलमा केही क्लबहरूले पर्यटक भिसामा आएका विदेशी खेलाडीलाई समेत समावेश गरेको भन्ने उजुरी प्राप्त भएको छ। सोही आधारमा विभागले आवश्यक कानुनी प्रक्रिया पूरा नगरी विदेशी खेलाडीलाई खेलमा सहभागी नगराउन आग्रह गरेको छ।
अध्यागमन नियमावली, २०५१ अनुसार भिसा लिएका विदेशी नागरिकले तोकिएको उद्देश्यअनुसार मात्रै काम गर्न पाउने व्यवस्था छ। त्यसबाहेक अन्य गतिविधिमा संलग्न हुन नपाइने प्रष्ट गरिएको छ।
“संघबाट सञ्चालन भएको राष्ट्रिय महिलारपुरुष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरूलाई समेत समावेश गरेको भन्ने व्यहोराको उजुरी यस विभागमा प्राप्त हुन आएको छ,” अध्यागमनले पत्रमा भनेको छ, “तसर्थ, कुनै पनि खेलमा विदेशी खेलाडीहरूलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्यसहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउनुहुन अनुरोध छ ।”
विभागले विदेशी खेलाडीलाई सहभागी गराउनु परेमा अनिवार्य रूपमा कार्यसहमति र श्रम स्वीकृति लिनुपर्ने जनाएको छ। साथै, स्वीकृति बिना खेलमा सहभागी गराइएमा कडाभन्दा कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।
यसैबीच, विभागले आजैदेखि अनुगमन प्रक्रिया सुरु गरेको जानकारी पनि दिएको छ।