वीरगञ्ज । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत वीरगञ्जमा आयोजना हुने खेलहरूको स्थल निर्देशकको महत्त्वपूर्ण जिम्मेवारी इन्जिनियर मनीष सिंहलाई प्रदान गरिएको छ ।
वीरगञ्जस्थित टिबी साह नारायणी क्रिकेट मैदानमा सञ्चालन हुने खेलहरूको समग्र व्यवस्थापन, समन्वय तथा सफल सञ्चालनमा सिंहको नेतृत्व रहने छ । प्रतियोगिताअन्तर्गत वीरगञ्जमा कुल १९ खेलहरू आयोजना हुनेछन् भने यही मैदानमा आगामी वैशाख १३ गते अन्तिम खेल सम्पन्न हुने तालिका रहेको छ ।
पर्सा क्रिकेट सङ्घको अध्यक्ष समेत रहेका सिंह अनुभवी र व्यवस्थापन क्षमतामा अब्बल मानिनछन् । उनको नेतृत्वमा स्थल व्यवस्थापन अझ व्यवस्थित, प्रभावकारी र सफल हुने विश्वास गरिएको छ ।
खेलाडी, अधिकारी तथा दर्शकका लागि उत्कृष्ट वातावरण सिर्जना गर्दै प्रतियोगितालाई उच्च स्तरमा सम्पन्न गराउने अपेक्षा गरिएको छ । प्रतियोगितामा सिंहको भूमिकाले वीरगञ्जलाई क्रिकेटको महत्त्वपूर्ण केन्द्रको रूपमा स्थापित गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजित प्रतियोगिता आगामी चैत ७ गतेदेखि औपचारिक रूपमा सुरु हुँदै छ । नेपालको प्रमुख घरेलु एक दिवसीय क्रिकेट प्रतियोगिताका रूपमा परिचित प्रतियोगिताले देशभरका उत्कृष्ट खेलाडीहरूलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै आएको छ ।
यस वर्षको संस्करणमा सात प्रदेशका टोलीहरू—कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम—सहित तीन विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल क्लब गरी कुल १० टोलीहरूको सहभागिता रहनेछ ।
कुल ४६ खेलहरू प्रतियोगिता पूर्ण राउन्ड रोबिन लिग ढाँचा (प्रत्येक टोलीले सबै टोलीसँग खेल्ने प्रणाली) मा सञ्चालन हुने निर्देशक सिंहले जानकारी दिए ।
खेलहरू वीरगञ्जस्थित टिबी साह नारायणी क्रिकेट मैदानसँगै त्रिभुवन विश्वविद्यालयमा रहेको क्रिकेट मैदान, माथिल्लो मुलपानी क्रिकेट मैदान र राम जानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गरी चार स्थानमा आयोजना गरिने छन् ।
उद्घाटन दिनमा जनकपुरमा कोसी प्रदेश र मधेस प्रदेशबिच प्रतिस्पर्धा हुने तय भएको छ भने वीरगञ्जमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबिच खेल हुनेछ ।
नयाँ प्रतिभाको पहिचान, खेलाडीको स्तर उकास्न तथा राष्ट्रिय टोलीका लागि सम्भावित खेलाडी छनोट गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएकोले प्रतियोगिता नेपाली क्रिकेटको विकासका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।