वीरगञ्ज । पर्साको महत्वपूर्ण व्यापारिक तथा औद्योगिक मार्गका रूपमा परिचित वीरगञ्ज–पोखरिया सडकको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको छ। सडकभरि फैलिएका खाल्डाखुल्डीका कारण यात्रु, चालक तथा व्यवसायीले सास्ती खेप्नुपरेको छ भने दुर्घटनाको जोखिमसमेत बढ्दै गएको गुनासो गरिएको छ।
वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आइसिपी), सुक्खा बन्दरगाह, परवानीपुर औद्योगिक क्षेत्र तथा पोखरिया जोड्ने यस सडकखण्डमा दैनिक रूपमा सयौँ मालवाहक तथा यात्रुवाहक सवारीसाधन सञ्चालन हुने गर्दछन्। तर सडकको दयनीय अवस्थाले सवारी सञ्चालन कठिन बन्दै गएको चालकहरू बताउँछन्।
सडकमा परेका गहिरा खाल्डाखुल्डीका कारण चालकहरूलाई सवारीको गति घटाएर यात्रा गर्नुपर्ने बाध्यता छ। कतिपय स्थानमा एक खाल्डो छल्न खोज्दा अर्को खाल्डोमा सवारी पर्ने अवस्था रहेको उनीहरूको भनाइ छ। रातिको समयमा खाल्डाखुल्डी सहजै नदेखिने भएकाले दुर्घटनाको सम्भावना अझ बढ्ने गरेको चालकहरूले बताएका छन्।
सवारी चालक रवीन्द्र पटेलले सडकको अवस्था लामो समयदेखि बिग्रँदै गए पनि मर्मतसम्भारमा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताए। उनका अनुसार सडकको दुरवस्थाले यात्रा समय लम्बिनुका साथै सवारीसाधनको मर्मत खर्चसमेत बढाएको छ।
चालकहरूका अनुसार गहिरा खाल्डामा सवारी परिरहँदा टायर, सस्पेन्सन, स्टेरिङलगायतका महत्वपूर्ण पार्टपुर्जामा क्षति पुग्ने गरेको छ। यसले यातायात व्यवसायीको सञ्चालन लागत बढाएको उनीहरूको भनाइ छ।
स्थानीय नेता नेजामुद्दीन समानीले सडक प्रयोग गर्ने सवारीसाधनबाट विभिन्न शीर्षकमा शुल्क संकलन गरिए पनि सडकको नियमित मर्मतसम्भारमा अपेक्षित ध्यान नदिइएको आरोप लगाए। सडकको भौतिक अवस्था सुधार नगरी केवल ट्राफिक व्यवस्थापनका माध्यमबाट दुर्घटना न्यूनीकरण सम्भव नहुने उनको धारणा छ।
व्यापार, उद्योग र ढुवानीका दृष्टिले रणनीतिक महत्व बोकेको वीरगञ्ज–पोखरिया सडकको बिग्रँदो अवस्थाले मालसामान ओसारपसारमा ढिलाइ हुनुका साथै व्यवसायिक लागतसमेत बढाइरहेको स्थानीयको गुनासो छ।
स्थानीयवासी, चालक तथा व्यवसायीहरूले तत्काल खाल्डाखुल्डी पुर्ने, जीर्ण सडकको मर्मत गर्ने तथा दीर्घकालीन रूपमा सडक स्तरोन्नतिको काम अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्। साथै सडकको नियमित अनुगमन, समयमै मर्मतसम्भार र अत्यधिक भार बोकेका सवारीसाधनको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको उनीहरूको भनाइ छ।