वीरगञ्ज । विपद्का समयमा उत्पन्न हुन सक्ने जोखिम र त्यसबाट जोगिने उपायबारे समुदायमा जनचेतना फैलाउने उद्देश्यले वीरगञ्जमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, मीनाबजारको आयोजनामा वीरगञ्जको घण्टाघर क्षेत्रमा स्थानीय बासिन्दालाई विपद्का समयमा अपनाउनुपर्ने सावधानी तथा सुरक्षित रहने उपायबारे जानकारी दिइएको हो।
कार्यक्रममा विपद्का समयमा मानिसले सामना गर्नुपर्ने आर्थिक, मानसिक तथा सामाजिक जोखिम, अस्थायी शिविरमा बस्दा अपनाउनुपर्ने सावधानी तथा महिला र बालबालिकामाथि हुन सक्ने सम्भावित जोखिमलगायतका विषयमा स्थानीय बासिन्दालाई सचेत गराइएको थियो।
सामुदायिक प्रहरी सेवा केन्द्र, मीनाबजारकी इन्चार्ज प्रहरी हवल्दार सन्ध्या गुरौले विपद्का समयमा हुन सक्ने असुरक्षित वैदेशिक रोजगारी, मानव बेचबिखन तथा अन्य जोखिमबाट जोगिन अपनाउनुपर्ने उपायबारे स्थानीय बासिन्दालाई जानकारी गराइन्।
त्यसैगरी, आगलागी, बाढी, भूकम्पलगायत विभिन्न विपद्का समयमा सुरक्षित रहने उपाय, अपरिचित व्यक्तिका शङ्कास्पद गतिविधिप्रति सतर्क रहने तथा कुनै समस्या उत्पन्न भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत सहभागीलाई सचेत गराइएको थियो।
पर्चा तथा प्रचार सामग्री वितरणसहित आयोजना गरिएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, मीनाबजारमा कार्यरत प्रहरी कर्मचारी तथा पदाधिकारीको सहभागिता रहेको थियो।
सामुदायिक सेवा केन्द्रले विपद्का समयमा मानिस आर्थिक कठिनाइ, मानसिक तनाव, अस्थिरता तथा असुरक्षित परिस्थितिमा पर्न सक्ने जनाएको छ। यस्तो अवस्थामा विशेषगरी महिला तथा बालबालिकालाई विभिन्न जोखिमबाट जोगाउन समुदायस्तरमा निरन्तर जनचेतना आवश्यक रहेको केन्द्रले जनाएको छ।