बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा घरभित्र टिभी सञ्चालन गर्ने क्रममा भएको विद्युत् दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने उनलाई बचाउन प्रयास गर्ने चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश राम रहेका छन्। प्रहरीका अनुसार घरमा जडान गरिएको टिभी चलाउने क्रममा विद्युत् तारमा समस्या उत्पन्न भई करेन्ट लाग्दा आकाश गम्भीर घाइते भएका थिए।
घटनापछि परिवारका सदस्य तथा छिमेकीले उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएका थिए। तर अस्पतालमा चिकित्सकीय परीक्षण गर्दा उनको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बालकलाई करेन्टको प्रभावबाट छुट्याउने प्रयासका क्रममा अन्य चार जनासमेत घाइते भएका छन्। घाइतेमध्ये मृतककी हजुरआमा ऐतबरिया राम, दिदी निलम राम, स्थानीय फूलकुमारी राम तथा अनिता शर्मा रहेका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। हाल घटनास्थलको निरीक्षण तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले विद्युत् सर्ट भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गर्दै घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।