वीरगञ्ज । वीरगञ्जको प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था हरि खेतान बहुमुखी क्याम्पस अहिले रणमैदानमा परिणत भएको छ। क्याम्पस सञ्चालक समिति र प्राध्यापक संघबीचको आन्तरिक शक्ति संघर्ष र खिचातानीका कारण करिब ४ हजार विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिएको छ।
सोमबारदेखि सञ्चालन हुने भनिएको त्रैमासिक परीक्षा अन्तिम समयमा आएर आकस्मिक रूपमा रद्द गरिएपछि आक्रोशित विद्यार्थीहरू सडकमा उत्रिएका छन्। लामो समयदेखि तयारी गरेर परीक्षा दिन क्याम्पस पुगेका ३ हजारभन्दा बढी विद्यार्थीहरू त्यतिबेला छाँगाबाट खसेझैँ भए, जब प्रशासनले ‘परीक्षा स्थगित’ को सूचना टाँस्यो।
कलेज प्रशासन, क्याम्पस प्रमुख र सञ्चालक समितिको गैरजिम्मेवारीपन विरुद्ध विद्यार्थीहरूले क्याम्पसको मूलढोकामा धर्ना दिँदै नाराबाजी गरे। ‘हाम्रो भविष्यमाथि राजनीति गर्न पाइँदैन, आन्तरिक झगडाले परीक्षा रोक्न पाइँदैन’ भन्दै विद्यार्थीहरूले क्याम्पस परिसरबाट विरोध र्याली निकालेका थिए।
घण्टाघरमा चक्काजाम र प्रहरीसँग ठेलमठेल
क्याम्पसबाट निस्किएको आक्रोशित विद्यार्थीहरूको समूह वीरगन्जको मुटु मानिने घण्टाघर चोकमा पुगेर टायर बाल्दै प्रदर्शनमा उत्रियो। प्रदर्शनका कारण वीरगन्जको मुख्य सडक दुवैतर्फी रूपमा अवरुद्ध भयो भने यातायात पूर्णतः ठप्प बन्यो।
स्थिति नियन्त्रण बाहिर जान लागेपछि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रदर्शनका क्रममा आक्रोशित भीडले सामान्य तोडफोडको प्रयास गरेपछि प्रहरी र विद्यार्थीबीच ठेलमठेल भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन केही विद्यार्थीहरूलाई नियन्त्रणमा समेत लिएको छ।
के हो विवादको चुरो ?
क्याम्पसका प्राध्यापक दिलीप कुमारका अनुसार प्राध्यापक संघले विभिन्न १६ बुँदे माग राख्दै गत फागुन ३ गते नै सञ्चालक समितिलाई पत्र बुझाएको थियो। ‘हामीले ७ गतेसम्मको अल्टिमेटम दिएका थियौँ, तर व्यवस्थापन समितिले हाम्रा मागप्रति कुनै चासो देखाएन,’ उनले भने, ‘विवश भएर हामी आजदेखि अनिश्चितकालीन हडतालमा जानुपरेको हो।’
सञ्चालक समिति, प्रशासन र प्राध्यापकहरूबीचको यो ‘अहंकारको लडाइँ’ ले बारा र पर्साका दुर्गम क्षेत्रबाट आएर अध्ययन गर्ने विद्यार्थीहरू मारमा परेका छन्। पटक-पटक हुने यस्ता प्रशासनिक विवादले पठनपाठन र परीक्षा प्रभावित हुनुले क्याम्पसको शाखमा समेत गम्भीर धक्का पुगेको छ।
स्थानीयको चिन्ताः सरोकारवाला मौन किन ?
सामुदायिक क्याम्पस जस्तो पवित्र मन्दिरलाई राजनीतिक अखडा र व्यक्तिगत स्वार्थपूर्तिको थलो बनाइनु दुःखद भएको स्थानीय अभिभावकहरूको गुनासो छ।
सरोकारवाला निकाय, स्थानीय प्रशासन र शिक्षा विभागले समयमै हस्तक्षेप गरी यो विवाद समाधान नगरे ४ हजार विद्यार्थीको शैक्षिक सत्र नै बर्बाद हुने जोखिम बढेको छ। वीरगन्जको शैक्षिक वातावरण बिग्रन नदिन तत्काल संवादको पहल गर्नुपर्ने माग उठिरहेको छ।





