वीरगञ्ज । पर्साको पकहाँ मैनपुर गाउँपालिका–३ निवासी ५१ वर्षीय शिक्षक चन्देश कुमार चौहानमाथि लागेको नक्कली प्रमाणपत्रको आरोप अन्ततः अदालतबाट खारेज भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले दायर गरेको मुद्दामा आइतबार सुनुवाइ गर्दै विशेष अदालत का न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइराला को संयुक्त इजलासले चौहानलाई पूर्ण रूपमा सफाइ दिएको हो।
अख्तियारले गत जेठ २६ गते दर्ता गरेको मुद्दामा चौहानको शैक्षिक प्रमाणपत्र नक्कली भएको दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) अनुसार कैद तथा जरिवानाको माग गरेको थियो। तर, अदालतमा प्रस्तुत प्रमाणहरू पर्याप्त नदेखिएको निष्कर्षसहित इजलासले आरोप पुष्टि हुन नसकेको ठहर गर्यो।
चौहान वीरगञ्ज–१ छपकैयास्थित श्री पंडित रामदेनि तिवारी आधारभूत विद्यालय का प्रधानाध्यापकका रूपमा कार्यरत छन्।
अदालतले आफ्नो फैसलाको जानकारी सम्बन्धित निकायहरू—शिक्षा विकास तथा समन्वय इकाई र वीरगञ्ज महानगरपालिकाको शिक्षा महाशाखासहित विद्यालयलाई समेत पठाइसकेको जनाएको छ।