वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका ले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन लागेका विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप सामग्री वितरण गर्दै औपचारिक बिदाइ गरेको छ।
गाउँपालिकाको शिक्षा शाखाद्वारा आइतबार वडा नं. ४ सण्ठीस्थित विद्यालयमा आयोजित कार्यक्रममा पालिकाभित्रका तीनवटा माध्यमिक विद्यालयका १ सय २० जना विद्यार्थीलाई टी–सर्ट, डायरी र कलम उपलब्ध गराइएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव ले विद्यार्थीहरूलाई गाउँपालिकाको लोगो अंकित सामग्री हस्तान्तरण गर्दै आगामी चैत १९ गतेदेखि सुरु हुने एसईई परीक्षामा सफलताको कामना व्यक्त गरे। उनले परीक्षा पश्चात् उच्च शिक्षा अध्ययनका क्रममा आउने समस्या समाधानका लागि पालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय गरिने प्रतिबद्धता पनि जनाए।
त्यसैगरी उपाध्यक्ष बबिता सिंह क्षेत्री र प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव लगायतका जनप्रतिनिधिहरूले विद्यार्थीहरूलाई खादा तथा माला लगाई सम्मानपूर्वक बिदाइ गरेका थिए।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख अशोक कुमार सिंह का अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्ने र परीक्षाप्रति सकारात्मक ऊर्जा थप्ने विश्वास लिइएको छ।