वीरगञ्ज । वीरगञ्जस्थित हरिखेतान बहुमुखी क्याम्पसमा देखिएको तनावपूर्ण अवस्था अन्ततः सहमतिमा टुंगिएको छ। झण्डै नौ घण्टासम्म चलेको लामो छलफलपछि प्रशासन, क्याम्पस व्यवस्थापन र विद्यार्थी पक्षबीच समझदारी कायम भएको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालले छलफलका क्रममा क्याम्पस व्यवस्थापनप्रति कडा असन्तुष्टि जनाउँदै कठोर टिप्पणी गरेपछि वार्ताले निर्णायक मोड लिएको जनाइएको छ। बढ्दो असहमति र आन्दोलनको संकेत देखिएपछि प्रशासनले सक्रिय भूमिका निर्वाह गरेको थियो।
छलफलपछि दुवै पक्षबीच तीन बुँदे सहमति भएको छ। सहमतिअनुसार कक्षा ११ र १२ को स्थगित आन्तरिक परीक्षा तत्काल सञ्चालन गरिनेछ। झडपका क्रममा घाइते भएका विद्यार्थीहरूको उपचार खर्च क्याम्पसले व्यहोर्नेछ भने विद्यार्थीका माग र अन्य समस्याबारे पुनः मंगलबार विस्तृत छलफल गरिने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यसअघि आइतबार बिहान परीक्षा दिन आएका ‘प्लस टु’ का विद्यार्थीहरूलाई क्याम्पस प्रशासनले अचानक सूचना जारी गर्दै परीक्षा स्थगित भएको जानकारी दिएको थियो। यसले आक्रोशित बनेका विद्यार्थीहरूले क्याम्पस परिसरमा प्रदर्शन र नाराबाजी गरेका थिए।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरी क्याम्पसभित्र प्रवेश गरेको थियो, जसका कारण केही समय तनाव चर्किएको थियो। सो क्रममा केही विद्यार्थी घाइते भएका छन् भने क्याम्पसका सवारी साधनमा क्षति पुगेको बताइएको छ।
प्रारम्भिक जानकारीअनुसार क्याम्पस प्रशासन र शिक्षकबीचको विवाद नै घटनाको मुख्य कारण रहेको थियो। शिक्षकहरूले लामो समयदेखि तलब नपाएको भन्दै परीक्षा बहिष्कार गरेका कारण परीक्षा सञ्चालन हुन नसकेको बताइएको छ।
क्याम्पस प्रमुख रविन्द्र यादवले शिक्षकहरूको अनुपस्थितिका कारण परीक्षा स्थगित गर्नुपरेको स्पष्ट पार्दै अब मंगलबारदेखि परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।