विरगज । मधेश प्रदेशका विभिन्न जिल्लामा घुमुवा प्रहरी परिचालन गरी अवैध कारोबार, तस्करी तथा आर्थिक असुलीलाई संरक्षण गरिएको गम्भीर आरोप सार्वजनिक भएको छ। विशेषगरी सर्लाही, धनुषा, सिरहा र बारा जिल्लामा प्रहरीकै संलग्नतामा तस्करी मौलाउँदै गएको स्रोतहरूको दाबी छ।
सर्लाहीमा योगेन्द्र कुमार खड्का का विश्वासपात्र मानिएका प्रहरी सहायक हवल्दार अर्जुन सिंह र प्रहरी जवान कृष्णनन्दन कुशवाहालाई घुमुवाको रूपमा परिचालन गरी अवैध कारोबारलाई प्रोत्साहन गरिएको आरोप लागेको छ। सिंहलाई त्रिभुवननगर, गोर्खाली, संग्रामपुर, पर्सा, बलरा र मलंगवा लगायतका नाकाबाट मासिक रूपमा रकम संकलन गर्ने जिम्मेवारी दिइएको बताइन्छ।
स्थानीय स्रोतका अनुसार विभिन्न नाकाबाट व्यापारीहरूबाट लाखौँ रुपैयाँ मासिक असुली हुने गरेको छ। संग्रामपुर र बलराबाट एक व्यापारीसँग ३ लाख ५० हजार रुपैयाँ, पर्साबाट ८० हजार, गोर्खालीबाट ६० हजार, मलंगवाबाट जनही १ लाख १० हजार, त्रिभुवननगरबाट ४०–४५ हजार, बलराबाट २ लाख ५० हजार तथा अन्य नाकाबाट समेत नियमित रकम उठाइने गरेको दाबी छ। घुमुवा सिंहले तस्करहरूलाई ‘लाइन मिलाइदिने’ र बदलामा मासिक नजराना लिने गरेको आरोप छ।
सादा पोशाकमा खटिने प्रहरीको मुख्य उद्देश्य शान्ति सुरक्षा र सूचना संकलन भए पनि सिंह र कुशवाहा जस्ता कर्मचारीले उल्टै तस्करीलाई बढावा दिएको स्थानीयहरूको भनाइ छ। करिब तीन वर्षदेखि विभिन्न प्रहरी प्रमुखहरूको संरक्षणमा सिंह घुमुवाकै रूपमा सक्रिय रहेको दाबी गरिएको छ।
सामान्य नागरिकलाई भने चेकजाँचको नाममा दुःख दिने तर तस्करहरूलाई छुट दिने प्रवृत्ति बढ्दै गएको आरोप पनि छ। भारतबाट लत्ताकपडा, हार्डवेयर, जुत्ता, काजु, चिनी लगायतका सामग्री निर्बाध रूपमा नेपाल भित्रिने गरेको बताइएको छ। यसबाट उठेको रकममध्ये केही भाग एसपी खड्कासम्म पुग्ने गरेको समेत आरोप लगाइएको छ।
यसैबीच मधेश प्रदेश प्रहरी प्रमुख गोविन्द थपलियाको निर्देशन विपरीत सर्लाहीमा तस्करी भइरहेको बताइएको छ। माथिल्लो तहबाट रोक लगाउने निर्देशन आए पनि कार्यान्वयन नभएको आरोप प्रहरी स्रोतहरूले नै लगाएका छन्।
जेनजी आन्दोलनपछि बनेको राजनीतिक परिवेशमा पनि मधेशका आठै जिल्लामा तस्करी नरोकिएको उल्लेख गरिएको छ। गोपाल थापामगर र जयलाल यादव नेतृत्वको घुमुवा टोलीले धनुषा र सिरहामा व्यापक असुली गरेको आरोप छ। धनुषामा चैत १ गते भएको घुस प्रकरण सार्वजनिक भएपछि विषय थप चर्चामा आएको छ।
सिरहामा तारापट्टि, हर्कट्टी, कचनारी, गोरगामा, ठाडी, माडर र खिराउना लगायतका नाकाबाट तस्करी सञ्चालन भइरहेको बताइएको छ। व्यापारीहरूबाट १५ हजारदेखि ७ लाख रुपैयाँसम्म मासिक असुली हुने गरेको दाबी छ। नेपालबाट स्याउ लगायतका सामान भारत पठाइने र उताबाट कपडा लगायत सामग्री ल्याइने गरिएको छ।
बारा जिल्लामा पनि दिपक बस्नेत को संरक्षणमा तस्करी फस्टाएको आरोप छ। बलिरामपुर, मुशहार्वा, छतवा, मटिआर्वा, सिम्रौनगढ लगायतका नाकाबाट कपडा, हार्डवेयर, मोबाइल पार्ट्स, पशु तथा कबाड सामग्रीको अवैध ओसारपसार भइरहेको उल्लेख गरिएको छ। बस्नेतले तस्करहरूलाई कार्यालयमै बोलाएर रकम लिने गरेको आरोप छ भने एसपी नरेन्द्र कुँवर को संरक्षण रहेको आशंका गरिएको छ।
सिरहाको बरियारपट्टि नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको मिलेमतोमा तस्करी भइरहेको दाबी गरिएको छ। इन्स्पेक्टर पशुपति बराल र घुमुवा अर्जुन ठाकुरमार्फत दररेट तोकी असुली गरिने गरेको स्रोतले जनाएको छ।
यसैगरी, मधेश प्रदेशभर विभिन्न स्थानमा घुमुवा प्रहरी परिचालन गरिएको उल्लेख छ। बरिष्ठ हवल्दार धर्मेन्द्र यादव महोत्तरी क्षेत्रमा सक्रिय रहेको, बारामा सई बसन्त र असई महतो, पर्सामा बरिष्ठ सई लोकेन्द्र पण्डित तथा धनुषा, सिरहा र सप्तरीमा जयलाल यादव कार्यरत रहेको बताइएको छ। केही प्रहरी कर्मचारीहरू लामो समयदेखि एउटै जिल्लामा बसेर घुमुवा रूपमा कार्यरत रहेको आरोप पनि छ।
उजुरी शाखामा एसपी कुमोद ढुंगेलका विश्वासपात्र प्रहरी सहायक हवल्दार नवीन पाल कार्यरत रहेको तथा पर्सामा समेत घुमुवा रूपमा परिचालन गरिएको उल्लेख छ। पाल लामो समयदेखि घुमुवा भूमिकामै रहँदै आएका छन्। उनका माथिल्लो निकायमा राम्रो पहुँच रहेको दाबी गरिएको छ। प्रहरी सहायक हवल्दार भए पनि उनी हाल डिआईजीसँग अत्यन्त नजिक रहेको बताइन्छ।
पाल मधेश प्रदेशका सबै जिल्लाका तस्करहरूसँग राम्रो सम्पर्कमा रहेकोले प्रदेशमा जुनसुकै डिआईजी आए पनि उनलाई नै घुमुवा रूपमा राखिने गरेको आरोप छ। उनी रकम असुलीमा समेत निकै सक्रिय र दक्ष रहेको बताइन्छ। हाल रौतहटमा वरिष्ठ सई योगेन्द्र थापा र प्रहरी सहायक हवल्दार नवीन पाल घुमुवाको रूपमा कार्यरत रहेको उल्लेख छ।
महोत्तरीका प्रहरी जवान धर्मेन्द्र यादव हेटौंडामा बसेर रकम संकलनमा संलग्न रहेको आरोप छ भने कबिर उर्फ राकेश यादव जिल्लामा सक्रिय रहेको बताइएको छ।
समग्र घटनाक्रमले प्रहरी संगठनभित्र सादा पोशाकमा खटिने घुमुवा प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। सूचना संकलनका लागि खटाइने टोली नै अवैध असुली र तस्करी संरक्षणमा संलग्न भएको गुनासो बढ्दो छ।
स्थानीय नागरिक, व्यापारी तथा केही प्रहरी अधिकारीहरूले यस विषयमा माथिल्लो निकायको ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।