पर्सा । पर्साको पोखरीया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापामारी गरेको छ। हेटौंडास्थित आयोगको कार्यालयबाट खटिएको टोलीले नगरपालिकाभित्र देखिएको बेथिति र अनियमितताको उजुरीका आधारमा छापा मारेको हो।
छापामारीका क्रममा अख्तियारको टोलीले नगरपालिकाको जिन्सी शाखामा विशेष जाँचबुझ गरेको थियो। जाँचका क्रममा जिन्सी शाखाका कागजातहरू नियन्त्रणमा लिँदा अधिकांश बिल भुक्तानीसम्बन्धी कागजात मात्र फेला परेको जनाइएको छ।
तर, जिन्सीमा अभिलेखित सामग्री भने कार्यालयमा नरहेकोले स्थानीयका अनुसार मेयर तथा केही कर्मचारीहरूको घरमा रहेको छ भने केही सामग्रीको बिल मात्र रहेको स्रोतले जनाएको छ। उक्त घटनापछि नगरपालिकाभित्र व्यापक अनियमितता भएको आशंका बलियो बनेको छ।
अख्तियारको टोलीले आवश्यक कागजातहरू नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।