पर्सा । पोखरिया नगरपालिकामा मेयर प्रधुमन चौहानको कार्यकालमा इन्धन खर्च अस्वाभाविक रूपमा बढेको पाइएको छ। सार्वजनिक गरिएको विवरणअनुसार केही वर्षमै २ करोड ९६ लाख ८ हजार ५ सय ५६ रुपैयाँ इन्धनमा खर्च भएको देखिएको छ, जसले आर्थिक अनुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ।
आर्थिक वर्ष २०७९/८० मा मात्रै वीरगञ्जको बहुवरी चोकस्थित पवन पुत्र आयल स्टोरबाट १५ लाख ६ हजार ५ सय, पोखरियाको बैरिया बिर्ता चोकस्थित यादव आयल स्टोरबाट ३३ लाख ९४ हजार ३ सय २७ रुपैयाँ खर्च गरिएको छ। साथै, व्यक्तिगत तेलको बिल पेश गरी ७९ हजार १ सय ५२ रुपैयाँ निकासा गरिएको विवरणले झन् शंका बढाएको छ।
त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा इन्धन खर्च झनै ह्वात्तै बढेको देखिन्छ। पवन पुत्र आयल स्टोरबाट ३३ लाख ७ हजार ७ सय, वीरगञ्ज बाइपासस्थित दिनबन्धु आयल स्टोरबाट १९ लाख ८ हजार ८ सय १८, यादव आयल स्टोरबाट ४३ लाख १० हजार १ सय ९२ र मनोज केयर आयल स्टोरबाट १९ लाख ८ हजार ८ सय १८ रुपैयाँ खर्च भएको छ। यसबाहेक व्यक्तिगत बिलमार्फत २९ हजार रुपैयाँ निकासा गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा पनि खर्चको दर घट्नुको सट्टा निरन्तरता पाएको छ। पवन पुत्र आयल स्टोरबाट १४ लाख ७ हजार, दिनबन्धु आयल स्टोरबाट १३ लाख ९१ हजार, यादव आयल स्टोरबाट ४३ लाख ५२ हजार ४ सय ४५, ओम आयल स्टोरबाट ५ लाख १२ हजार ८ सय ६ र केडिया आयल स्टोरबाट ६५ हजार रुपैयाँ खर्च भएको छ। साथै, व्यक्तिगत बिलमार्फत थप १२ हजार ५ सय रुपैयाँ निकासा गरिएको छ।
चालु आर्थिक वर्षमै दिनबन्धु आयल स्टोरबाट १५ लाख ८३ हजार २ सय ९८ र यादव आयल स्टोरबाट ५ लाख रुपैयाँ खर्च भइसकेको देखिन्छ।
इन्धन जस्तो शीर्षकमा यति ठूलो रकम खर्च हुँदा पनि त्यसको स्पष्ट औचित्य, सवारी साधनको विवरण र प्रयोगको पारदर्शी अभिलेख नदेखिनु गम्भीर विषय भएको स्थानीयवासीको भनाइ छ।
एउटै आयल स्टोरबाट बारम्बार ठूलो रकम निकासा हुनु र व्यक्तिगत बिलमार्फत समेत खर्च देखिनुले अनियमितताको आशंका बलियो बनाएको छ।
स्थानीय सरोकारवालाहरूले यो प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूका अनुसार विकास निर्माण र सेवा प्रवाहभन्दा इन्धन खर्चमै यति ठूलो रकम खर्च हुनु सुशासनको धज्जी उडाउनु सरह हो।
यता नगरपालिकाले भने खर्च नियमअनुसार भएको दाबी गर्दै आएको छ। तर, तथ्यांकले देखाएको अस्वाभाविक खर्चका कारण मेयर चौहानको कार्यशैलीमाथि प्रश्न उठ्दै गएको छ र जनविश्वास क्रमशः कमजोर बन्दै गएको छ।