पोखरिया । पर्साको पोखरिया नगरपालिकास्थित प्रादेशिक अस्पतालको अवस्था पछिल्लो समय निकै नाजुक बनेको छ। जिल्ला अस्पतालबाट प्रादेशिक अस्पतालमा स्तरवृद्धि भए पनि सेवा-सुविधामा सुधार हुनुको साटो झन् जर्जर बन्दै गएको हो।
कुनै समय दैनिक २५० जनासम्म बिरामीले सेवा लिने गरेको यस अस्पतालमा हाल सेवाहरू कटौती भएपछि बिरामीको सङ्ख्या घटेर १०० मा सीमित भएको छ।
उपचार सेवा ठप्प: एक्स–रे मेसिनका पार्टपुर्जा नै गायब
अस्पतालको एक्स–रे सेवा विगत दुई महिनादेखि पूर्ण रूपमा ठप्प छ। ठेकेदार कम्पनीले पाउनुपर्ने करिब साढे चार लाख रुपैयाँ भुक्तानी नपाएको झोंकमा एक्स–रे मेसिनका महत्त्वपूर्ण पार्टपुर्जाहरू नै खोलेर लगेपछि यो अवस्था सिर्जना भएको हो।
नगरपालिकाले भुक्तानी गर्ने आश्वासन दिए पनि समयमा रकम नपाउँदा ठेकेदारले यस्तो कदम चालेको बुझिएको छ। एक्स–रे मात्र होइन, अस्पतालमा ईसीजी सेवा र ल्याबमा गरिने थाइराइड परीक्षण समेत बन्द छ।
सरकारले ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गरे तापनि पोखरिया प्रादेशिक अस्पतालमा अहिले ४–५ प्रकारका सामान्य औषधि मात्र बाँकी छन्। चिकित्सकले बीमा अन्तर्गत लेखिदिएका औषधि बिरामीले पाउन छाडेका छन्। अस्पतालमा अति आवश्यक पर्ने जीवनजल, सिटामोल, पट्टी र कपास समेत उपलब्ध नहुँदा बिरामीहरू रित्तो हात फर्किन वा निजी क्लिनिकमा महँगो शुल्क तिर्न बाध्य छन्।
भुक्तानी विवादका कारण एक्स–रे मेसिनका पार्टपुर्जा ठेकेदारले लगेको छ । ९८ प्रकारका औषधिमध्ये ९० प्रतिशतभन्दा बढीको अभाव रहेको छ । ईसीजी र थाइराइड परीक्षण सेवा पूर्ण रूपमा बन्द भएको छ । अस्पतालको स्तरवृद्धि भए पनि व्यवस्थापकीय कमजोरीका कारण सेवामा ह्रास आएको छ ।
हाल अस्पतालको यो अस्तव्यस्त अवस्थाले गर्दा कर्मचारीहरू निराश छन् भने सेवाग्राहीहरू आक्रोशित बनेका छन्। अस्पताल व्यवस्थापन र नगरपालिकाले समन्वय गरी तत्काल देखिएका समस्या समाधान नगरे अस्पतालको साख थप गिर्ने देखिन्छ।