पोखरिया । पोखरिया नगरपालिकामा विगत तीन वर्षको आय–व्यय विवरण सार्वजनिक गर्न माग गर्दै जनप्रतिनिधिहरूले प्रमुख प्रशासकीय अधिकृतसमक्ष ज्ञापनपत्र पेश गरेका छन्।
जनप्रतिनिधिहरूले आर्थिक वर्ष ०८०/०८१ देखि हालसम्मको इन्धन खर्च, पोषण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गरिएको खर्चको विवरण उपलब्ध गराउनुपर्ने, कर्मचारीहरूको ११ महिनादेखि रोकिएको तलब भुक्तानी गर्नुपर्ने तथा जनप्रतिनिधिहरूको सेवा–सुविधा समेत निकासा गर्नुपर्ने माग राखेका छन्।
उनीहरूले तोकिएको समयसीमाभित्र माग सम्बोधन नभए नगरपालिकामा तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन्। ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत कौशल कुमार झाले सम्बन्धित शाखाबाट आवश्यक कागजात संकलन गरी उपलब्ध गराउने प्रतिबद्धता जनाए। उनले सम्पूर्ण विवरण जुटाउन केही समय लाग्न सक्ने बताएका छन्।
उक्त कार्यक्रममा वडा अध्यक्ष लक्ष्मण शाह कानु, परमानन्द पटेल, नौसाद आलम लगायत वडा सदस्यहरू तथा नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।