रौतहट । नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोहका चार जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गको नेतृत्वमा मंगलबार दिउँसो होटेलको कोठा नम्बर १०२ मा छापा मारिएको थियो । अवैध सुनको किनबेच भइरहेको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले खानतलासी गर्दा नक्कली सुनका टुक्राहरू र अन्य उपकरणहरू फेला पारेको थियो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ का ३७ वर्षीय अशोक तामाङ, चन्द्रपुर नगरपालिका–१० का ३० वर्षीय अरविन्द चौधरी, रौतहट बौधीमाई नगरपालिका–६ का ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बङ्गाल (मिलिगुडी)का ३० वर्षीय संजोक बस्नेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार उनीहरूको साथबाट सुन जस्तो देखिने पहेँलो धातु ४ थान, पोलेर कालो बनाइएको धातु १ थान, पोलेर कालो बनाई टुक्रा पारिएको धातु २ थान, दूरबिन १ थान र मोबाइल ६ थान बरामद गरिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नक्कली सुनलाई सक्कली भनी सर्वसाधारणलाई झुक्काएर बिक्री गर्ने उद्देश्य राखेको खुलेको छ ।
पक्राउ परेकामाथि ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको छ । घटनामा संलग्न हुनसक्ने अन्य व्यक्तिहरूको खोजी कार्य समेत तीव्र पारिएको प्रहरीले जनाएको छ ।
