इजरायलले लेबनानमा बुधबार गरेको आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ ।
लेबननस्थित संयुक्त राष्ट्रसंघका शीर्ष मानवीय सहायता अधिकारी इमरान रिजाले इजरायली आक्रमणको निन्दा गर्दै युद्ध यथाशीघ्र रोक्न अपिल गरेका छन् । साथै, उनले मानवीय सहायता अभियानका लागि थप आर्थिक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।
उनका अनुसार बेरुत, दक्षिणी लेबनन लगायतका क्षेत्रमा तीन घण्टासम्म लगातार विस्फोट र एम्बुलेन्सका साइरन सुनिएका थिए ।
संयुक्त राष्ट्रसंघका अधिकारीका अनुसार नयाँ हवाई आक्रमण सुरु हुनुअघि नै बुधबार बिहान एउटा क्याफेमा भएको आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको थियो भने १२ भन्दा बढी विस्फोटका आवाज सुनिएका थिए ।
त्यसपछि दिउँसो इजरायली सेनाले १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण गरेको थियो । ‘यो अत्यन्त नाटकीय थियो । आक्रमणको स्तर अत्यन्त भयावह थियो,’ रिजाले भनेका छन्, ‘हालसम्म हताहतको यकिन तथ्यांक प्राप्त नभए पनि सयौँ मानिस मारिएको वा घाइते भएको आशंका गरिएको छ । अस्पतालहरूमा अत्यधिक दबाब छ, र देशभर रगत दानका लागि ठूलो अपिल गरिएको छ ।’
समाचार एजेन्सी रोयर्टसका अनुसार इजरायलले लेबनानमा बुधबार गरेको आक्रमणमा २५० भन्दा बढीको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसंघले इजरायल र हेजबुल्लाहलाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न र तत्काल अवरोधविहीन मानवीय सहायता मार्ग पुन:स्थापित गर्न आह्वान गरेको छ ।
ठूलो मानवीय संकट
संयुक्त राष्ट्रसंघका अनुसार २ मार्चदेखि इजरायली सेना र हेजबुल्लाहबीच लडाइँ सुरु भएयता हालसम्म १ हजार ५०० जनाको ज्यान गएको छ, जसमा १३० बालबालिका रहेका छन् । ४६१ बालबालिका घाइते भएका छन् ।
हवाई आक्रमण र घर छोड्न इजरायलले दिएको निर्देशनका कारण हालसम्म करिब १२ लाख मानिस विस्थापित भएका छन्, जुन कुल जनसंख्याको करिब २० प्रतिशत हो ।
करिब १ लाख ३८ हजार मानिसले ६७८ वटा सामूहिक आश्रयस्थलमा शरण लिएका छन्, जसको धेरैजसो व्यवस्था विद्यालयहरूमा गरिएको छ । अन्य धेरै मानिसहरू समुदायमा अनौपचारिक रूपमा बसोबास गरिरहेका छन्, जहाँ आधारभूत सेवाको अभाव छ ।
तनाव अन्त्यको अपिल
संयुक्त राष्ट्रसंघका शीर्ष मानवीय सहायता समन्वयक इमरान रिजाले सर्वसाधारणमाथि हिंसाको गम्भीर प्रभाव परेको भन्दै तत्काल तनाव र टकराव अन्त्य गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘यो समय बाँकी रहेका मुद्दामा वार्ता गर्ने, मतभेद समाधान गर्ने, स्थायी युद्धविरामतर्फ अघि बढ्ने र हिंसात्मक द्वन्द्वको दीर्घकालीन समाधान खोज्ने हो ।’
उनले अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण सम्मान गर्न, सर्वसाधारण, नागरिक संरचना र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न, तथा मानवीय सहायता मार्ग खुला राख्नुपर्नेमा जोड दिएका छन् ।