वीरगञ्ज । प्रदेश २ को स्थायी राजधानी वीरगञ्जलाई नै बनाउनुपर्नेमा प्रदेश २ का पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं ३ को ( ख ) बाट निर्वाचित प्रदेश सांसद प्रह्लाद गिरीले माग गरेका छन् ।
प्रदेश सांसद गिरीले बिहीबार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी वीरगञ्ज प्रदेश २ को एक मात्र महानगर र आधुनिक सहर पनि भएकाले प्रदेश २ को स्थायी राजधानी वीरगञ्ज नै हुनुपर्ने बताए ।
प्रदेशको राजधानी बनाउन कसरत भइरहेका बेला लोकतान्त्रि समाजवादी पार्टीका नेतासमेत रहेका उनले पूरै देशलाई वीरगञ्जले पालिरहेको जिकिर गर्दै आर्थिक नगरी भएकाले वीरगञ्जलाई नै प्रदेशको राजधानी बनाउँदा उपयुक्त हुने दाबी पनि गरे।
सेवा–सुविधाको मामिलामा जनकपुरभन्दा वीरगञ्ज धेरै अघि रहेको बताउँदै जनकपुरभन्दा राम्रो वीरगञ्जलाई नै बनाउनुपर्नेमा सबै प्रदेश सांसद लाग्नुपर्नेमा जोड दिए।जनकपुर धार्मिक स्थल भएकाले त्यो पूजापाठका लागि उपयुक्त स्थान भएको तर प्रदेशको राजधानी भने वीरगञ्जलाई नै बनाउँदा प्रदेश २ का जनता बढी खुसी हुने दाबी गिरीको थियो। प्रदेशको अस्थायी राजधानी जनकपुर भएदेखि त्यहाँ महँगी एकदमै धेरै बढेको बताउँदै अस्थायी राजधानी भएकै कारण त्यहाँका घर भाडालगायत वृद्धि भएको उनले गुनासो गरे।
फरक प्रसंगमा बोल्दै गिरीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गदी पर्सावासी नै भएको तर जिल्लाको विकासमा ध्यान नदिएको आरोपसमेत लगाए।वीरगञ्जलाई मुख्यन्त्री दिएर राजधानी जनकपुरको भागमा दिइएको उनले आरोपसमेत लगाए।राजधानी वीरगञ्ज हुनुपर्छ भनेर पर्साबाट निर्वाचित प्रदेश सांसदबाहेक अन्य जिल्लाका सांसदले कुरा नउठाएको गिरीको आरोप थियो। गत बिहीबार बसेको प्रदेशसभा बैठकमा ‘मधेश प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्यमधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम पेस भएको थियो।
प्रदेश सरकारको आन्तरिक तयारी अनुसार नै प्रदेश राजधानी टुंगो लगाउने सभामुख सरोज यादवको नेतृत्वमा गठित १६ सदस्यीय कमिटिमा पर्साका सांसदलाई नराखिएको पनि गिरीले बताउनुभयो । सरकार के निर्देशन अनुसार प्रदेशको नाम 'मधेश प्रदेश र राजधानी 'जनकपुर'लाई बनाउन तयारी गरेर समिति बनाएको प्रदेश सभा सदस्य गीरीले आरोप लगाए ।