काठमाडौं । फिल्मी दुनियाँबाट राजनीतिमा आएका तमिल सुपरस्टार थलापति विजयको पार्टी तमिलगा वेत्री कझगम (टीभीके)ले भारतको तमिलनाडु विधानसभा चुनावमा सबैभन्दा धेरै सिट जितेको छ । पार्टीको ठूलो जितसँगै अब उनी राज्यको मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।
टिभीकेले दशकौंदेखि तमिलनाडुको राजनीतिमा प्रभुत्व जमाएका दुई प्रमुख दलहरू डीएमके र एआईएडीएमकेलाई धेरै पछाडि पारेको हो ।
५१ वर्षीय विजय मुख्यमन्त्री बन्ने चर्चासँगै उनको सम्पत्तिको पनि चर्चा भइरहेको छ । विजयले गत मार्च ३०, २०२६ मा निर्वाचन आयोगमा दर्ता गरेको सम्पत्ति विवरणमा आफ्नो कुल सम्पत्ति ६२४ करोड भारतीय रुपैयाँ रहेको उल्लेख गरेका छन् ।
विजय तमिल फिल्मका एक सुपरस्टार स्टार हुन् । उनको फिल्मी करियर तीन दशक लामो छ । उनी दक्षिण भारतीय फिल्मका सबैभन्दा धनी स्टारहरूमध्ये एक पनि हुन् ।
विजयको कुल सम्पत्ति ६२४ करोडमा ४०४ करोड चल सम्पत्ति समावेश छ भने २२० करोड अचल सम्पत्ति हो । आर्थिक वर्ष २०२४–२५ मा उनको आम्दानी १८४.५३ करोड थियो । यो रकम स्वरोजगार, भाडा आम्दानी र ब्याज आम्दानीबाट आएको उनले उल्लेख गरेका छन् ।
विजयसँग चेन्नईका नीलंकराई, शालिग्रामम र माइलापुरमा ११५ करोड रुपैयाँ बराबरका १० वटा आवासीय घरहरू रहेको छ । विजयको ६ करोड मूल्यको टाटा कारवा र ३.०१ करोड मूल्यको टोयोटा लेक्सस ३५० समावेश छ । उनीसँग २ करोड मूल्यको बीएमडब्लू आई७ देखि ६७,४०० भारुको टीभीएस एक्सएल सुपरसम्मका विभिन्न ब्रान्डका सवारी साधनहरू पनि रहेको छ ।
विजयसँग १.२० करोड रुपैयाँ बराबरको ८८३ ग्राम सुन र १५ लाख रुपैयाँ बराबरको चाँदी छ । उनकी श्रीमती संगीता सोर्नालिंगमसँग ४.०७ करोड रुपैयाँ बराबरको सुन, १ करोड रुपैयाँ बराबरको हीरा (१३४.९१ क्यारेट) र चाँदीका गहना छन् ।
विजयले सम्पत्ति विवरणमा विभिन्न व्यक्ति र संस्थाहरूलाई जम्मा ७५.५ करोड ऋण दिएको उल्लेख गरेका छन् ।
विजयको पूरा नाम चन्द्रशेखर जोसेफ विजय हो । उनलाई फ्यानहरूले थलापति भनेर सम्मान गर्छन् । तमिल भाषामा थलापतिको अर्थ कमान्डर नेता हो । आफ्नो करियरमा उनले मुख्य भूमिकामा ६९ फिल्महरूमा अभिनय गरेका छन् ।