काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) नेता शुभेन्दु अधिकारीका निजी सहायक (पीए) चन्द्रनाथ रथको पश्चिम बंगालको मध्यमग्राम क्षेत्रमा गोली हानी हत्या गरिएको छ।
मंगलबार राति उत्तर २४ परगना जिल्लाको दोहरिया क्षेत्रमा मोटरसाइकलमा आएका आक्रमणकारीहरूले रथ सवार कारमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
घटनामा चालक बुद्धदेव बेरा पनि घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको बताइएको छ। उनलाई कोलकातास्थित अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
प्रहरीका अनुसार चारवटा मोटरसाइकलमा आएका करिब आठ जना आक्रमणकारीहरूले योजनाबद्ध रूपमा हमला गरेका थिए।
लामो समयसम्म पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको निकट सहयोगी रहेका शुभेन्दु अधिकारी हालै भाजपा प्रवेश गरेका थिए। पछिल्लो विधानसभा निर्वाचनमा उनले ममता बनर्जीलाई पराजित गरेका थिए।
घटनापछि भाजपा नेता तथा कार्यकर्ताहरूले विरोध जनाएका छन्। प्रहरीले क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको र घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।