नयाँ दिल्ली । भारतमा मेडिकल कलेजहरूमा भर्नाका लागि लिइने प्रतिष्ठित राष्ट्रिय योग्यता प्रवेश परीक्षा (निट–यूजी) को प्रश्नपत्र बाहिरिएपछि सरकारले परीक्षा रद्द गरेको छ।
प्रश्नपत्र 'लीक' भएको आरोपमा अनुसन्धान भइरहेका बेला संघीय सरकारको नेशनल टेस्टिङ एजेन्सी (एनटीए) ले मंगलबार वर्तमान परीक्षा प्रक्रियालाई मान्यता दिन नसकिने भन्दै रद्द गर्ने निर्णय गरेको हो।
भारतभरका मेडिकल कलेजहरूमा अध्ययनका लागि अनिवार्य मानिने यो परीक्षा गत मे ३ मा सम्पन्न भएको थियो। देशभरका ५ हजारभन्दा बढी केन्द्रहरूमा करिब २२ लाख ८० हजार परीक्षार्थीहरू यसमा सहभागी भएका थिए।
तर परीक्षा सकिएको केही दिनमै प्रश्नपत्र बाहिरिएको खबर सार्वजनिक भएपछि विद्यार्थी र अभिभावकहरू आन्दोलित भएका थिए। भारतीय राजधानी दिल्लीमा यो विषयलाई लिएर तीव्र विरोध प्रदर्शन र राजनीतिक दबाब बढ्दै गएपछि सरकारले परीक्षा खारेज गर्ने कदम चालेको हो।
भारतीय सञ्चार माध्यमहरूका अनुसार अनुसन्धानकर्ताहरूले प्रश्नपत्र राजस्थानबाट बाहिरिएको आशङ्का गरेका छन्। राजस्थान प्रहरीका एक वरिष्ठ अधिकारीले एउटा 'गेस पेपर' (अनुमानित प्रश्नपत्र) परीक्षा अगावै फैलिएको र त्यसमा भएका प्रश्नहरू वास्तविक परीक्षासँग मिलेको फेला पारेको बताएका छन्।
उक्त गेस पेपरमा ४१० वटा प्रश्न रहेकोमा करिब १२० वटा प्रश्नहरू वास्तविक परीक्षाको रसायन विज्ञान (केमेस्ट्री) खण्डसँग हुबहु मिलेको पाइएको छ। निट–यूजीको प्रश्नपत्रमा भौतिक विज्ञान, रसायन विज्ञान र जीव विज्ञान गरी कुल १८० वटा अनिवार्य प्रश्नहरू सोधिने गरिन्छ।
एनटीएले राष्ट्रिय परीक्षा प्रणालीको विश्वास र विद्यार्थीहरूको हितलाई ध्यानमा राखेर परीक्षा रद्द गर्ने निर्णय लिइएको जनाएको छ। यो मुद्दालाई अब संघीय अनुसन्धान निकाय सीबीआईलाई सुम्पिएको छ। पुनः परीक्षा हुने मिति अझै घोषणा नगरिएकाले भर्ना प्रक्रियामा ढिलाइ हुने चिन्ता थपिएको छ।
वर्षौँदेखि तयारी गरिरहेका लाखौँ परीक्षार्थीहरूका लागि यो निर्णय निकै पीडादायी बनेको छ। दिल्लीकी एक १७ वर्षीया छात्राले पछिल्ला दुई वर्ष आफ्नो जीवन पूरै यसै परीक्षाको तयारीमा बितेको भन्दै आफ्नो मिहिनेत खेर गएकोमा चिन्ता व्यक्त गरेकी छन्।
परीक्षा रद्द भएसँगै डाक्टर बन्ने सपना बोकेका २३ लाख हाराहारी विद्यार्थीहरूको शैक्षिक भविष्य अहिले अन्योलमा परेको छ।