वीरगंज । पर्सा यातायात व्यवस्था कार्यालयमा बिहिवार २१ गतेका दिन हरिवंश प्रसाद गुप्ताले काम विशेषले जाँदा प्रमुख कुशेश्वर साह तेली सँग भनाभन भएको थियो ।
सो भनाभनको क्रममा कुशेश्वर साह तेलीले तलाई ज्यान मारिदिन्छु भनि भनेको आरोप सहितको भिडियो सोही दिन हरिवंशले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका थिए । हरिवंशको फेसबुकबाट झिकी यस अनलाईनले प्रशारण गरेको थियो ।
यातायातको मोटरसाईकल फाँटमा भईरहेको अनियमित्ता बारे यस अनलाईनले एउटा अर्को भिडियो सार्वजनिक गरेको थियो । सो भ्रष्टाचारको भिडियो हरिवंशनै दिएको होला भनि शंका गरी कुशेश्वर साहले उनलाई अभद्र व्यवहारको मुद्दामा फँसाई थुनामा राख्न लगाएका छन् ।
बिचौलिया मार्फत सवारी साधनको नामसारी तथा सनाखत प्रक्रिया यातायातमा भईरहेको आरोप सार्वजनिक भईरहेका बेला प्रमुख कुशेश्वर साह माथि छानबिन हुनु पर्ने ठाउँमा प्रहरीको मिलोमतोमा हरिवंशलाई नै अभद्र मुद्दामा फँसाईएको घटनाले पर्साका एसपी सुदिपराज पाठक र प्रमुख जिल्ला अधिकारी भोला दाहालको चौतर्फी आलोचना भईरहेको पाईएको छ ।
यातायात कार्यालय भित्र बिचौलिया र दलालको संलग्नतामा सवारीधनीको उपस्थिति बिना नै नामसारी हुने गरेको छ । हरिवंशलाई प्रमुख कुशेश्वर साह तेलीले धम्की दिएको आरोप बारे कुनै किसिमको अनुसन्धान नभई उल्टै धम्की खाने व्यक्ति माथि अभद्र व्यवहारको मुद्दा दर्ता हुनु संयोग मात्र हो कि प्रतिसोध भन्ने प्रश्न उठन थालेको छ ।
यस अनलाईनमा सार्वजनिक भएका भिडियोमा कार्यालय भित्र बिचौलिया मार्फत नामसारी प्रक्रिया गराईएको, केही व्यक्तिलाई कोठा भित्र राखेर बाहिरबाट ताल्चा लगाई कागजी प्रक्रिया पुरा गराई रहेको लगायतका विषय उठाईएको थियो ।
ती आरोप बारे छानबिन र सत्य तथ्य सार्वजनिक हुनु पर्ने माग भईरहेका बेला आरोपको केन्द्रमा रहेका कार्यालय प्रमुख माथि कुनै कारवाही प्रक्रिया अगाडि नबढनु र धम्की दिई पिडित बनाईएका हरिवंशलाई हिरासतमा पु¥याउनुले घटनालाई थप शंकास्पद बनाएको छ ।
सुशासन, पारदर्शिता र बिचौलियामुक्त सेवा प्रवाहको नारा दिइरहेको राज्य संयन्त्रमै भ्रष्टाचार बारे मिडियामा सार्वजनिक भईरहेको आरोपित अधिकारी भने पदमै रहिरहनुले कानुनी निष्पक्षता तथा प्रशासनिक उत्तरदायित्व माथि गम्भीर प्रश्न खडा गरेको छ ।
भ्रष्टाचारको आरोपमाथि अनुसन्धान भन्दा पनि पिडित व्यक्तिलाई नियन्त्रणमा लिनुलाई धेरैले पद र पावरको दुरुपयोगको रूपमा समेत व्याख्या गर्न थालेका छन् ।
यद्यपि कार्यालय प्रमुख कुशेश्वर शाह तेली माथि लगाइएका आरोप तथा हरिवंश प्रसाद माथि दर्ता गरिएको अभद्र व्यवहार मुद्दाको सत्यता सम्बन्धित निकायको निष्पक्ष र स्वतन्त्र अनुसन्धानबाट मात्रै पुष्टि हुनेछ ।
तर हालसम्म देखिएको घटनाक्रमले भने भ्रष्टाचारको विरोध गर्नेलाई नै पक्राउ गर्ने तथा आरोपित प्रमुख कुशेश्वर माथि छानबिन समेत नहुनुले देशमा अझपनी कुशासनको प्रवृति रहीरहनुले गम्भीर बहस जन्माएको छ ।