वीरगंज । पर्सा प्रहरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा धोविनी गाउँपालिका वडा नं २ आस्वारी बस्ने १९ वर्षिय पृथ्वी सिंह कुर्मी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट नियमित चेकिङ्गमा खटिएको टोलीले विशेष सूचनाको आधारमा बिरगंज महानगरपालिका वडा नं १५ अल्पाईन बोर्डिङ स्कूल इस्तिथ सडक खण्डमा पैदल हिँडिरहेका कुर्मीलाई चेकजाँच गर्दा चामलको बोरा भित्र लुकाई छिपाई ल्याएको फेनारगन २५० एमपुल , नुर्फिन २५० एमपूल र डाईजेपाम २५० एमपुल गरी जम्मा ७५० एमपूल लागू औषध फेला परेको पर्सा प्रहरीले जनाएको छ । उक्त लागूऔषध बरामद गरी निज कुर्मीलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धि कसुरमा मुदामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।