कलैया । काठमाडौंको प्रतिष्ठित मनमोहन मेमोरियल टिचिङ अस्पतालमा कार्यरत डा. कृष्ण गुप्ताको अमानवीय र कुरुप अनुहार बाहिरिएको छ। सेतो कोट लगाएर बिरामीको सेवा गर्ने कसम खाएका डाक्टर आफैं दाइजोको लोभमा दानव बनेर श्रीमतीमाथि बर्बर शारीरिक तथा मानसिक यातना दिएको आरोपमा पक्राउ परेका छन् ।
तर, उनीमाथि कारबाही हुनुको साटो पेसागत र सामाजिक पहुँचको आडमा हिरासत छल्न अस्पतालको सुविधासम्पन्न एसी (AC) केबिनमा 'शाही उपचार' पाइरहेको तथ्यले कानुनी राज्यको खिल्ली उडाएको छ।
पीडित चेतन कुमारी शाहसँग २०८१ साल फागुन २३ गते सामाजिक परम्पराअनुसार डा. गुप्ताको विवाह भएको थियो। विवाहमा केटी पक्षले आफ्नो जीवनभरको कमाइ जोडेर करिब एक करोड रुपैयाँ खर्च गरेका थिए । तर, विवाहको केही समय नबित्दै डा. गुप्ता र उनको परिवारको सक्कली रूप सार्वजनिक भयो।
माइती पक्षसँग करिब ४९ लाख रुपैयाँ पर्ने 'टाटा नेक्सन' गाडी वा सो बराबरको रकम ल्याउन निरन्तर दबाब दिँदै उनले आफ्नै माग पूरा गर्न नसक्दा श्रीमतीमाथि पटक-पटक निर्घात कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की समेत दिँदै आएका छ्न । श्रीमतीको रूपमा स्वीकार नगर्ने भन्दै घरबाट निकाल्ने र मानसिक रूपमा क्षतविक्षत बनाउने हर्कत समेत गर्दै आएका थिए ।
बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु हुनासाथ डा. गुप्ताले कानुनी फन्दाबाट बच्न "स्वास्थ्य समस्या" को अचुक हतियार प्रयोग गरे । असार २३ गते प्रहरीमा उपस्थित भएका उनी असार २६ गते नै वीरगञ्जको एसएल न्युरो अस्पतालको एसी केबिनमा भर्ना भए।
सामान्य नागरिकलाई पक्राउ पर्नेबित्तिकै चिसो र साँघुरो हिरासतमा कोचेर अनुसन्धान गरिन्छ । तर, दाइजोका लागि श्रीमतीको बिचल्ली बनाउने पहुँचवाला डाक्टरलाई भने अस्पतालको डिलक्स एसी रूममा राखेर अनुसन्धानको नाममा संरक्षण दिइँदै छ। के कानुन गरिबलाई मात्र लाग्ने हो?" भने प्रश्न उठान थालेका छन् ।
हस्पिटल प्रशासनले हाडजोर्नीको समस्या देखाएर उनलाई भर्ना गरे पनि पीडित पक्षले यसलाई हिरासत बस्नबाट जोगिने प्रपञ्च र अनुसन्धान प्रभावित पार्ने षड्यन्त्र भएको दाबी गरेका छन ।
यस जघन्य दाइजो उत्पीडन र कुटपिट मुद्दाका अन्य मतियारहरू—डाक्टरका बुबा रामचन्द्र शाह कानु र आमा शिलादेवी गुप्ता—अझै फरार छन् । एकातिर मुख्य अभियुक्त अस्पतालको विलासी केबिनमा सुरक्षित छन् भने अर्कोतिर सह-अभियुक्तहरू फरार हुनुले प्रहरी प्रशासनको अनुसन्धान प्रक्रियाको निष्पक्षतामाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ।
पेसाले चिकित्सक जस्तो संवेदनशील वर्गमा रहेर पनि दाइजोको नाममा नवविवाहिताको जीवन बर्बाद पार्ने डा. कृष्ण गुप्तालाई तत्काल अस्पतालबाट डिस्चार्ज गरी हिरासतमा राखेर निष्पक्ष छानबिन गरिनुपर्छ भने माइती पक्षले अडान राखेका हुन् । उनको कथित बिरामी अवस्थाको जाँच गर्न स्वतन्त्र मेडिकल बोर्ड गठन गरिनु आवश्यक छ ताकि शक्तिको आडमा न्यायको घाँटी निमोठ्न नसकियोस्। अपराधी डाक्टर होस् वा सर्वसाधारण, कानुनको नजरमा सबै समान हुनैपर्छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालयका बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले भने डा. गुप्ताको स्वास्थ्य अवस्था उपचार आवश्यक देखिएकोले उपचाररत चिकित्सकको सल्लाहअनुसार प्रहरीको निगरानीमा अस्पताल राखेर अनुसन्धान भइरहेको बताएका छन् ।