भारत बिहार वैशाली जिल्लाको महुवा घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयामा बस्दै आएका ४५ वर्षीय इरिक्सा चालक मुख्तार मियाँको शव पुस २२ गते साँझ ५ बजे नहरमा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले अभियुक्तहरुलाई सार्वजनिक गर्दै मियाँको हत्यामा ४ जनाको मुख्य संलग्नता देखिएको र ई–रिक्सा व्यवस्थापनमा २ जना मतियारको रुपमा प्रयोग भएको पाईएको जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक बस्नेतका अनुसार अभियुक्त मध्ये १ जना भारतीय नागरिक अझै फरार छन् । हत्या अभियोगमा पक्राऊ पर्नेमा बिहारको मुंगेर थाना बैजरपुर निवासी हाल छपकैया बस्ने सपन मण्डल, बाराको परवानीपुर गाउपालिका वडा नम्बर ५ बस्ने निकेश पटेल, बिहारको मुंगेर थाना बैजरपुर वडा नम्बर ३ बस्ने सुनिर कुमार रहेका छन् ।
त्यस्तैगरी मतियारका रुपमा इरिक्सा व्यवस्थापनमा संलग्न रहेको आरोपमा भारतको विहार घर भई छपकैयामा होटल व्यवसाय गर्दै आएका बाबु छोरा नाजिर हुसेन र बाबर हुसेन रहेका छन् ।
घरमा झगडा भएपछि सपन मण्डलले अन्य तीन जनालाई बिभिन्न प्रलोभन देखाई हत्यामा संलग्न गराएको र चार जना मिलि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।