वीरगञ्ज । प्रदेश नम्बर २ स्थायी राजधानी वीरगञ्जलाई बनाउनु पर्ने माग गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीको घर अगाडी स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।
स्थानीय युवाहरुको टोलीले आज बिहान मुख्यमन्त्रीको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित निवास अगाडी विभिन्न नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन् । वीरगञ्जलाई राजधानी नबनाए कडा प्रतिकार गर्ने उनीहरुको चेतावनी छ ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को राजधानीका लागि जनकपुरधामको पक्षमा मतदान गर्ने पक्कापक्कै भएपछि आक्रोशित युवाहरु आन्दोलनमा उत्रेका हुन् । मुख्यमन्त्री राउतले आफ्नो पद जोगाउनका लागि वीरगञ्जसँग धोका दिएर जनकपुरको पक्षमा मतदान गर्न लागेको गरिरहेको उनीहरुको आरोप छ ।
मुख्यमन्त्री राउतले राजधानीको विषयमा कुनै स्पष्ट धारणा सार्वजनिक नगरेको कारण पनि उनि आफ्नो पद जोगाउन जनकपुरको पक्षमा रहेर वीरगञ्जसँग गद्दारी गरिरहेको स्थानीयहरुको भनाई छ ।
"सानोभन्दा पनि दोकानको उद्घाटनका लागि पनि प्रदेशको एक कुनाबाट अर्को कुना पुगिहाल्ने मुख्यमन्त्रीलाई प्रदेश २ को राजधानी जस्तो गम्भीर विषयको बारेमा एकपटक पनि बोल्न समय छैन," प्रदर्शनमा सहभागी एक युवाले प्रश्न गर्दै भने, "उनलाई आफ्नो मातृभुमी भन्दापनि मुख्यमन्त्रीको पद बढी प्यारो छ । त्यसैले वीरगञ्जसँग गद्दारी गरिरहेका छन् ।"
संघीयता स्थापना गर्नेदेखि विभिन्न चरणमा भएको मधेस विद्रोह लगायतका आन्दोलनहरुमा समेत वीरगञ्जले प्रदेश नम्बर २ को अन्य स्थानभन्दा धेरै योगदान गरेको र हरेक प्रकारले राजधानीका लागि वीरगञ्ज उपयुक्त रहेको उनीहरुको भनाई छ ।