वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा नयाँ प्रहरी उपरीक्षक पवनकुमार भट्टराईको आगमनपछि सेवा प्रवाहमा सुधारको अपेक्षा गरिए पनि कार्यालयमा बिचौलियाको प्रभाव अझै कायम रहेको भन्दै सर्वसाधारणबाट गुनासो आउन थालेको छ ।
स्थानीयका अनुसार पूर्व प्रहरी उपरीक्षक सुदीपराज पाठकको कार्यकालमा पनि बिचौलियाको प्रभाव रहेको चर्चा हुने गरेको थियो। नयाँ नेतृत्व आएपछि यस्तो अवस्था अन्त्य हुने अपेक्षा गरिए पनि व्यवहारमा कुनै उल्लेखनीय सुधार नदेखिएको उनीहरूको आरोप छ।
पीडित तथा सेवाग्राहीहरूको भनाइअनुसार जिल्ला प्रहरी कार्यालयका विभिन्न फाँटसँग पहुँच भएका व्यक्तिहरूले फोनको आधारमै सहज रूपमा कार्यालयभित्र प्रवेश पाउने गरेका छन्। तर न्यायको खोजीमा पुगेका सर्वसाधारण भने लामो समयसम्म गेटमै रोकिनुपर्ने र सम्बन्धित फाँटबाट फोन नआएसम्म प्रवेश नपाउने अवस्था रहेको उनीहरूको गुनासो छ।
सेवाग्राहीहरूले यस्तो व्यवस्थाले पहुँच भएका व्यक्तिलाई प्राथमिकता दिने र सामान्य नागरिकलाई विभेदपूर्ण व्यवहार भएको अनुभूति गराएको बताएका छन्। उनीहरूका अनुसार न्याय खोज्दै प्रहरी कार्यालय पुगेका पीडितहरू नै प्रवेश प्रक्रियामा अल्झिनुपर्दा थप मानसिक पीडा बेहोर्न बाध्य भएका छन्।
स्थानीयवासीहरूले प्रहरी कार्यालयमा सबै नागरिकलाई समान व्यवहार हुने वातावरण सुनिश्चित गर्न, प्रवेश व्यवस्थालाई पारदर्शी बनाउन तथा बिचौलियाको प्रभाव अन्त्य गर्न प्रहरी नेतृत्वले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।
यो विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले हामी पीडितसँग निरन्तर छलफल तथा भेटघाट गरिरहेका छौं । एउटै मुद्दामा बढी व्यक्ति आएकोले सम्बन्धित व्यक्तिलाई मात्र प्रवेश गराउने गरेको बताए । साथै हाफ पाइन्टमा प्रवेश गर्ने खोज्नेलाई निषेध गरिएको बताए ।