वीरगंज । नाम चलेको ब्रान्डको आधिकारिक सर्भिस सेन्टरबाट सेवा लिएपछि उपभोक्ताले झन् समस्या भोग्नुपरेको गुनासो सार्वजनिक भएको छ । वीरगंजको माइस्थानस्थित सामसुङको आधिकारिक सर्भिस सेन्टरमा मोबाइल मर्मतका लागि पुगेका एक सेवाग्राहीले सेवा प्रक्रियामा ढिलाइ हुनुका साथै आफ्नो मोबाइलमा थप क्षति भएको आरोप लगाएका छन् ।
वीरगंज महानगरपालिका–२३ रामगढवाका अशेसर पटेलले आफ्नो सामसुङ ग्यालेक्सी एस–२३ अल्ट्रा मोबाइलको डिस्प्ले परिवर्तनका लागि करिब एक साताअघि सर्भिस सेन्टरमा बुझाएका थिए ।
पटेलका अनुसार मोबाइल बुझाएको लामो समयसम्म पनि मर्मत सम्पन्न भएन । उनी दैनिकजसो सर्भिस सेन्टर पुग्दा कहिले पार्टपुर्जा नआएको, कहिले काम भइरहेको र कहिले अर्को दिन आउन भनिएको उनको दाबी छ ।
तर, उनको मुख्य गुनासो मर्मतमा भएको ढिलाइ मात्र होइन । डिस्प्ले मर्मत गर्ने क्रममा मोबाइलको पछाडिको सिसा अर्थात् ब्याक ग्लाससमेत फुटेको पटेलको आरोप छ । आफूले मोबाइल बुझाउँदा उक्त भागमा कुनै क्षति नरहेको तर सर्भिस सेन्टरमा मर्मतका क्रममा थप क्षति भएको उनको भनाइ छ ।
घटनाको अर्को पक्ष शुक्रबार देखिएको पटेलले बताएका छन् । उनका अनुसार बिहान करिब १० बजे सर्भिस सेन्टरबाट फोन गरेर मोबाइल तयार भइसकेको जानकारी दिइएको थियो । व्यक्तिगत कामका कारण उनी साँझ करिब ४ बजे मोबाइल लिन पुगे । तर, सर्भिस सेन्टरमा पुग्दा मोबाइल अझै पूर्ण रूपमा तयार नभएको उनले बताए ।
फोन गरेर बोलाएपछि आफू पुगेको अवस्थामा समेत कर्मचारीबाट उचित व्यवहार नपाएको पटेलको गुनासो छ । उनले कार्यरत मिस्त्रीले उल्टै हप्कीदप्की गरेको आरोपसमेत लगाएका छन् ।
‘मोबाइल बनाउन विश्वास गरेर आधिकारिक सर्भिस सेन्टरमा दिएको हुँ । तर, समयमै मोबाइल पाएनँ, पटक–पटक धाउनुपर्यो र मर्मतकै क्रममा थप क्षति भएको छ,’ पटेलले गुनासो गरे ।
आधिकारिक सर्भिस सेन्टरप्रति उपभोक्ताको विश्वास निजी मर्मत केन्द्रको तुलनामा बढी हुने गर्छ । कम्पनीकै नाम र मापदण्डअनुसार सेवा पाइने अपेक्षामा उपभोक्ताले आफ्नो महँगो उपकरण त्यहाँ बुझाउने गर्छन् । यस्तो अवस्थामा मर्मतका क्रममा उपकरणमा थप क्षति भए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उठेको छ ।
पटेलले मोबाइलमा भएको थप क्षतिको जिम्मेवारी सर्भिस सेन्टरले लिनुपर्ने तथा आफूले भोगेको समस्या समाधान गरिनुपर्ने माग गरेका छन् ।
घटनाले वीरगंजमा कम्पनीका आधिकारिक सर्भिस सेन्टरबाट प्रदान गरिने सेवाको गुणस्तर, कर्मचारीको व्यवहार र ग्राहकका उपकरणको सुरक्षाबारे प्रश्न उठाएको छ । यद्यपि, सेवाग्राहीले लगाएका आरोपबारे सम्बन्धित सर्भिस सेन्टर तथा सामसुङ कम्पनीको आधिकारिक धारणा भने प्राप्त हुन सकेको छैन ।
सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त भएपछि समाचारमा समेटिनेछ ।