जनकपुरधाम । मिटरब्याज, ठगी (अनुचित लेनदेन) तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ परेका जनकपुरधामका एकै परिवारका तीन जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।
जिल्ला अदालत धनुषाकी न्यायाधीश हिरामाया अवालको इजलासले जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी ४८ वर्षीया रेखा साह, उनका ३२ वर्षीय छोरा हरेराम साह तथा ५३ वर्षीय जेठाजु गोपाल साहलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउन आदेश दिएको हो।
धनुषा प्रहरीले उनीहरूलाई साउन १ गते ठगी (अनुचित लेनदेन) र आपराधिक विश्वासघातको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। थुनछेक बहस बुधबार र बिहीबार सम्पन्न भएपछि अदालतले कारागार चलानको आदेश दिएको हो।
यस मुद्दालाई लिएर अदालत परिसरमा दुई दिनसम्म मिटरब्याज पीडित तथा पक्राउ परेका पक्षका समर्थकहरूले छुट्टाछुट्टै प्रदर्शन गरेका थिए। मुद्दाका जाहेरवालामध्ये नेपाल प्रहरीका पूर्व एसएसपी गोविन्दकुमार साह पनि रहेका छन्। विदेह नगरपालिका–८ बफैँका साहसहितको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार पक्राउ परेका गोपाल साहको जनकपुरधामस्थित घरमा गरिएको खानतलासीका क्रममा ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता तथा अन्य महत्वपूर्ण कागजात र एक थान ल्यापटप बरामद गरिएको थियो।
प्रहरीले उनीहरूमाथि अनुचित लेनदेन तथा ठगीसम्बन्धी नौ वटा मुद्दा दर्ता गरेको जनाएको छ। तीमध्ये हालसम्म छ वटा मुद्दाको सुनुवाइ सम्पन्न भएको छ भने बाँकी मुद्दाको सुनुवाइ प्रक्रिया जारी रहेको छ।
धनुषा प्रहरीका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार अदालतको आदेशअनुसार तीनै जनालाई जलेश्वर कारागार पठाउने प्रक्रिया अघि बढाइएको छ।