वीरगञ्ज, भदौ १ । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले पत्रकारिता र राजनीतिमा बढ्दो गलत प्रवृत्तिले दुवै क्षेत्रको विश्वसनीयतामा असर परेको बताएका छन्।
वीरगञ्जबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पटेलले इमानदारीपूर्वक पत्रकारिता गर्ने सञ्चारकर्मीहरू पछिल्लो समय विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गरे। उनले समाजका जिम्मेवार नागरिक र असल व्यक्तिहरूले विकृति तथा बेथितिविरुद्ध खुलेर आवाज उठाउनुपर्ने आवश्यकता औँल्याए।
उनले केही असफल र उद्देश्यविहीन व्यक्तिहरू पत्रकारिता तथा राजनीतिमा प्रवेश गर्ने प्रवृत्ति बढेको टिप्पणी गर्दै यसले समग्र क्षेत्रकै छवि धुमिल बनाएको बताए। साथै, चार दशकदेखि समाजका विविध विषयलाई निरन्तर उठान गर्दै आएको प्रतीक दैनिकको योगदानको प्रशंसा गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारिता क्षेत्र अहिले चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै सञ्चारमाध्यमप्रति राज्यको दृष्टिकोण निष्पक्ष हुनुपर्ने बताए। उनले पत्रकारिता क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि सरकार थप जिम्मेवार बन्नुपर्ने धारणा राखे।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले स्थानीय राजनीतिक, आर्थिक र सामाजिक मुद्दालाई प्राथमिकताका साथ उठान गर्न स्थानीय सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै त्यसको प्रवर्द्धनमा स्थानीय र प्रदेश सरकारबाट पर्याप्त सहयोग नपाएको गुनासो गरे।
प्रतीक दैनिकका प्रधानसम्पादक जगदीश शर्माले प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा अवसरसँगै नयाँ चुनौती पनि थपिएको बताए। बदलिँदो सञ्चार प्रविधिअनुसार पत्रकारिताले आफूलाई समयसापेक्ष रूपमा रूपान्तरण गर्नुपर्ने उनको भनाइ थियो।
समारोहमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, साहित्यकार गीता भण्डारी, पत्रकार महेशचन्द्र गौतमलगायतले शुभकामना व्यक्त गरेका थिए। यस अवसरमा सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार महेशचन्द्र गौतम तथा स्वर्गीय चिरञ्जीवी कोइराला पत्रकारिता पुरस्कारबाट युवा पत्रकार अर्जुन चौधरी सम्मानित भए। साथै, प्रतीक दैनिकका स्तम्भकार राजेन्द्र कोइराला, संवाददाता चिरञ्जीवी सापकोटा र प्रेस कर्मचारी विजयबहादुर श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।