वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धिसागर पन्तको जाहेरीमा विद्युतीय कारोबार ऐनअन्तर्गत अघि बढेको मुद्दामा श्याम शराफ र राहुल गुप्ता आज पर्सा जिल्ला अदालतमा आफैँ उपस्थित भएर हाजिर भएका छन्। पर्सा जिल्ला अदालतका न्यायाधीश मोहनबहादुर अधिकारीको इजलासले दुवै जनालाई साधारण तारेखमा राख्ने आदेश दिएको छ।
पन्तले आफूविरुद्ध अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत व्यक्तिगत प्रतिष्ठा, सामाजिक मर्यादा तथा राजनीतिक छविमा आँच पुर्याउने खालका सामग्री प्रकाशन तथा प्रसारण गरिएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए।
जाहेरीमा विभिन्न अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आफूलाई बदनाम गर्ने उद्देश्यले स्पा सेन्टरसँग जोडेर नाबालिगको प्रयोग, गैरकानुनी गतिविधि तथा लगानीलगायतका आरोप लगाइएको दाबी गरिएको छ। पन्तले उक्त सामग्रीलाई आधारहीन र भ्रामक भन्दै कानुनी कारबाहीको माग गरेका छन्।
सोही जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत अनुसन्धान अघि बढेको मुद्दामा श्याम शराफ र राहुल गुप्ता आज आफैँ अदालतमा उपस्थित भएका हुन्। दुवै जनाको तर्फबाट कानुनी बहस भएपछि अदालतले साधारण तारेखमा राख्ने आदेश दिएको हो।
बहसका क्रममा वादी नेपाल सरकारका तर्फबाट सहायक सरकारी न्यायाधिवक्ता महेश आचार्यले बहस गरेका थिए।
त्यस्तै, प्रतिवादी श्याम शराफ र राहुल गुप्ताका तर्फबाट बार एसोसिएसन पर्साका अध्यक्ष एवं अधिवक्ता रामनारायण कुर्मी, अधिवक्ता पन्नालाल गुप्ता, अधिवक्ता प्रमोद साह, अधिवक्ता कृष्णचन्द्र लामिछाने र अधिवक्ता आशुतोष तिवारी लगायतले बहस गरेका थिए।
पन्तको जाहेरीमा आफूविरुद्ध प्रकाशित सामग्रीले व्यक्तिगत प्रतिष्ठा, सामाजिक मर्यादा, राजनीतिक छवि तथा पारिवारिक सम्मानमा गम्भीर क्षति पुर्याएको दाबी गरिएको छ। तर, जाहेरीमा लगाइएका आरोपको सत्यता तथा मुद्दाको अन्तिम निष्कर्ष भने न्यायिक प्रक्रियाबाटै टुंगो लाग्नेछ।
श्याम शराफ र राहुल गुप्ता पक्राउ परेका नभई मुद्दाको प्रक्रियाअनुसार आफैँ अदालतमा उपस्थित भएर हाजिर भएका हुन्। अदालतको आदेशपछि दुवै जना साधारण तारेखमा रहेका छन्।