पर्सा । पर्साको पकाहा मैनपुर गाउँपालिकामा देखिएका शिक्षा, कृषि, खानेपानी, स्वास्थ्य तथा प्रशासनिक समस्याहरू समाधानको माग गर्दै स्थानीय युवा तथा नागरिकहरूले गाउँपालिका प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन्।
युवा नेता अकलेश साहको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा किसानलाई समयमै मलखाद उपलब्ध गराउने, कालोबजारी नियन्त्रण गर्ने तथा वितरण प्रक्रियालाई पारदर्शी बनाउन माग गरिएको छ। त्यसैगरी निजी स्रोतका शिक्षकहरूको बाँकी तलब तत्काल भुक्तानी गर्न, शैक्षिक संस्थामा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न तथा कानुनअनुसार प्रधानाध्यापक नियुक्ति गर्नुपर्ने माग पनि उठाइएको छ।
ज्ञापनपत्रमा आगामी गाउँसभा तथा बजेट प्रक्रियालाई खुला र पारदर्शी बनाउन, अनावश्यक कर्मचारी नियुक्ति तथा कार्यकर्ता भर्ती बन्द गर्न र लामो समयदेखि अवरुद्ध रहेको खानेपानी ट्यांकी सञ्चालनमा ल्याउनुपर्ने उल्लेख गरिएको छ।
यस्तै, वडा नं. ४ स्थित लहवरपकरी नहरबाट आसवारीसम्मको सडक तत्काल मर्मत तथा स्तरोन्नति गर्न र आर्थिक रूपमा विपन्न नागरिकको उपचार खर्च गाउँपालिकाले व्यवस्थापन गर्नुपर्ने मागसमेत गरिएको छ।
ज्ञापनपत्र बुझाउँदै युवाहरूले गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतबाट लिखित प्रतिबद्धताको अपेक्षा गरेको बताएका छन्। मागहरू समयमै सम्बोधन नभए गाउँपालिकाभित्रका सम्पूर्ण युवा तथा सर्वसाधारणलाई साथ लिएर चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ।
ज्ञापनपत्रमा उठाइएका विषयहरू जनसरोकारसँग प्रत्यक्ष रूपमा जोडिएका भएकाले गाउँपालिका प्रशासनले यथाशीघ्र आवश्यक पहल गर्नुपर्ने स्थानीयवासीहरूको माग रहेको छ।