वीरगन्ज । बाराको सिमरामा तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा कमजोरी देखिएको निष्कर्षसहित इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिलिप क्षेत्रीलाई जिम्मेवारीबाट हटाइएको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ क्षेत्रीलाई सिमराबाट तानेर प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीएसपी दयाकृष्ण भट्टलाई सिमराको नयाँ प्रमुखको जिम्मेवारी दिएको छ।
घटनापछि अनुसन्धान र प्रहरी परिचालनप्रति व्यापक प्रश्न उठिरहेका बेला इलाका प्रहरी कार्यालय सिमराका इन्स्पेक्टर प्रकाश थापालाई समेत जिम्मेवारीमुक्त गरिएको छ।
प्रहरी स्रोतका अनुसार बालिकामाथि भएको जघन्य अपराधको अनुसन्धान तथा घटनापछि गरिएको प्रहरी परिचालन प्रभावकारी हुन नसकेको निष्कर्षपछि सिमराको प्रहरी नेतृत्वमा फेरबदल गरिएको हो।
बालिकामाथि बलात्कारपछि हत्या भएको घटनालाई प्रहरी नेतृत्वले अत्यन्त गम्भीर रूपमा लिँदै अनुसन्धानलाई थप प्रभावकारी बनाउन कमान्ड परिवर्तन गरेको जनाएको छ।