वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीको घरमा ढुङ्गा प्रहार गर्ने एक जाना युवक पक्राउ परेका छन् । मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको निवासमा ढुङ्गा प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेका हो ।
नेपाली कांग्रेसले जनकपुरलाई प्रदेशको राजधानी बनाएको विरोधमा निकालेको मोटरसाइकल र्यालीबाट निस्केर मुख्यमन्त्री राउतको घरमाथि ढुङ्गा प्रहार गर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर १ निवासी २६ वर्षीय सुमन पटेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पटेलले प्रहार गरेको ढुङ्गाबाट राउत निवासको २ वटा सिसा फुटेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले पक्राउ गरेका पटेलविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता डिएसपी खनालले बताए ।