बिरगंज । सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ । आयोजकले बोलाएका कलाकार नआएको भन्दै महोत्सव हेर्न पुगेका दर्शकले मंगलबार बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेका हुन् । महोत्सवको अन्तिम दिन आज भारतीय भोजपुरी कलाकार खेसरीलाल यादव आउने आयोजकले जानकारी गराएको थियो ।सोही अनुसार टिकट काटेर बसेका दर्शकले यादव नआएपछि तोडफोड गरेका हुन् ।
तोडफोडमा उत्रिएकाहरुले चारवटा भारतीय गाडीमा पनि आगजनी गरेका छन् । उनीहरुले महोत्सवस्थलमा रहेका कुर्सी र मञ्च पनि तोडफोड गरेका जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
स्थानीय प्रशासनले पुस २३ गतेदेखि महोसत्व गर्न अनुमति दिएकेा थियो । तर यसबीचमा कोभिड संक्रमण तीब्र रुपमा फैलिएपछि प्रशासनले महोत्सव रोक्न भन्दै पुस २७ गते आयोजकलाई परिपत्र गरेको थियो । तर प्रशासनको आदेशविपरित आयोजकले महोत्सवलाई निरन्तरता दिएको प्रहरीले जनाएको छ । आयोजकले अटेर गरेका कारण कलाकार हेर्न उर्लिएको भीड आक्रोसित बन्दा सो घटना भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
कार्यक्रमका लागि भारतीय कलाकारको टोली आएको र सो टोलीलाई प्रशासनले विराटनगरमै रोकेको बताइएको छ ।