वीरगञ्ज । “आमा, रक्षाबन्धन आउन लाग्यो। तीनै दिदीबहिनीलाई रक्षाबन्धनमा घर बोलाउनू है। यसपालि घर फर्कंदा नयाँ कपडा र घरखर्च लिएर आउँछु।”
पर्साको पकाहाँ मैनपुर गाउँपालिका–१, धोरेका २४ वर्षीय विकास कुमार बर्णवालले केही दिनअघि आमासँग टेलिफोनमा गरेको यो कुराकानी नै अन्तिम बन्ला भन्ने परिवारले कल्पनासमेत गरेका थिएनन्।
विकास तीन दिदीबहिनीका एक्ला भाइ थिए। परिवारका एक्ला छोरासमेत रहेका विकास रोजगारीका लागि लामो समयदेखि रसुवाको बेद्रौटीस्थित एक हार्डवेयर पसलमा काम गर्दै आएका थिए।
गत बुधबार गएको विनाशकारी पहिरोपछि उनी अचानक बेपत्ता भए। पहिरो गएको खबर पाएलगत्तै परिवारमा छटपटी सुरु भयो। आमाले छोरालाई पटक–पटक फोन गरिन्। तर, प्रत्येकपटक फोनमा ‘सम्पर्क हुन सकेन’ भन्ने सन्देश मात्रै आयो।
दिन बित्दै गए पनि परिवारको आशा भने मरेको थिएन। विकास जीवितै भेटिने आशामा उनका बुबा शंकर साह बर्णवालले सम्बन्धित निकायसँग निरन्तर सम्पर्क गर्दै खोजीका लागि हारगुहार गरे।
तर, हालसम्म विकासको कुनै अत्तोपत्तो लागेको छैन। न उनी जीवित रहेको जानकारी प्राप्त भएको छ, न त उनको शव नै फेला परेको छ।
तीन दिदीबहिनीका एक्ला भाइ विकासको अवस्था अज्ञात भएपछि परिवारमाथि पीडाको पहाड खसेको छ। रक्षाबन्धनमा दिदीबहिनीलाई घर बोलाउने र उनीहरूका लागि नयाँ कपडा लिएर आउने वाचा गरेका भाइ नै अहिले फर्केर नआउने अवस्थाले दिदीबहिनीहरूलाई समेत स्तब्ध बनाएको छ।
शव फेला नपरेपछि सामाजिक तथा धार्मिक परम्पराअनुसार काजकिरिया र सद्गतका लागि आज कुशको प्रतीकात्मक शव बनाएर दागबत्ती दिने तयारी गरिएको छ।
आफ्नै आँखाले छोराको अन्तिम अवस्था देख्न नपाई कुशको पुत्लालाई दागबत्ती दिनुपर्ने बाध्यताले बुबा शंकर साह र आमाको पीडा झनै गहिरिएको छ।
धोरे गाउँमा समेत अहिले शोक र स्तब्धता छाएको छ। गाउँलेहरूका लागि पनि विकासको बेपत्ता हुनु निकै पीडादायी बनेको छ।
रक्षाबन्धनमा दिदीबहिनीलाई घर बोलाउने वाचा गरेका विकास अब कुशको प्रतीकात्मक शव बनेर घर फर्किंदै छन्। तीन दिदीबहिनीले आफ्नो एक्लो भाइको अनुहारसमेत अन्तिम पटक हेर्न नपाउने पीडादायी अवस्था बनेको छ।