सर्लाही । अग्रगामी मोर्चाले आफ्नो संगठनलाई गाउँ–गाउँ र वडा–वडासम्म विस्तार गर्दै आगामी राजनीतिक गतिविधिलाई सशक्त बनाउने रणनीति तय गरेको छ। मोर्चाको सर्लाही जिल्ला समन्वय समितिको बैठकले संगठन विस्तारसँगै भदौ २७ गते जनकपुरधाममा हुने प्रदेशस्तरीय अभिमुखीकरण तथा प्रदेश मोर्चा घोषणा कार्यक्रमलाई भव्य रूपमा सफल बनाउने निर्णय गरेको हो।
मलङ्गवास्थित होटल दरबार इनमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीका जिल्ला अध्यक्ष रन्धिर कुमार यादवको अध्यक्षतामा बसेको बैठकमा मोर्चामा आबद्ध नौ राजनीतिक दलका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी थिए। बैठकमा पूर्वगृहराज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
बैठकले जनकपुरधाममा हुने कार्यक्रमका लागि सर्लाहीबाट ठूलो संख्यामा नेता, कार्यकर्ता र समर्थक सहभागी गराउने निर्णय गरेको छ। साथै संगठनलाई संसदीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, नगरपालिका, गाउँपालिका र वडा तहसम्म विस्तार गर्ने तथा युवा, महिला, विद्यार्थी, किसान र बुद्धिजीवीलाई समेटेर भ्रातृ तथा जनसंगठन निर्माण गर्ने निर्णय पनि गरिएको छ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, संविधान र समावेशितामाथि हुने कुनै पनि प्रतिगमनकारी प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै त्यस्तो अवस्था आए अग्रगामी मोर्चा प्रतिरोधको अग्रपंक्तिमा उभिने चेतावनी दिनुभयो।
उहाँले अग्रगामी मोर्चा सत्ता प्राप्तिको स्वार्थका लागि नभई जनताको अधिकार, सामाजिक न्याय, समानता, सुशासन र राज्यसत्तामा उत्पीडित समुदायको सार्थक सहभागिता सुनिश्चित गर्ने दीर्घकालीन राजनीतिक अभियानका रूपमा गठन भएको बताउनुभयो।
अन्सारीले आगामी निर्वाचनमा मोर्चामा आबद्ध दलहरू एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने तयारीमा रहेको जानकारी दिँदै सडक संघर्षदेखि निर्वाचन र सरकारसम्म संयुक्त रूपमा जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले उत्पीडित समुदायलाई मोर्चाप्रति विश्वास गर्न आग्रह गर्दै यो गठबन्धन सरकारमा सहभागी हुनका लागि मात्र नभई विभेदको अन्त्य र जनअधिकार स्थापनाको दीर्घकालीन अभियान भएकाले नटुट्ने दाबी गर्नुभयो।
बैठकले भदौ २७ गते जनकपुरधाममा हुने प्रदेश मोर्चा घोषणा कार्यक्रमलाई सफल बनाउन मधेश प्रदेशभर अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। अग्रगामी मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, सामाजिक न्याय, सुशासन, राष्ट्रिय स्वाधीनता र जनअधिकारको संरक्षण तथा विस्तारलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउँदै संगठनलाई देशव्यापी रूपमा विस्तार गर्ने जनाएको छ।