वीरगञ्ज । बिरगंजलाई मधेश प्रदेशको राजधानी नबनाएको भंदै पर्सामा चर्को आन्दोलन सुरु भएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाम भएपछि वीरगञ्जको घण्टाघरमा आज सयुँक्त युवा विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन् ।
संगठनका अध्यक्ष मोहमद नेजामको अध्यक्षतामा वीरगञ्जको घण्टाघरमा प्रदर्शन गर्नुका साथै विभिन्न नाराबाजी समेत गरिएको थियो । प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरुले ‘मुख्यमन्त्री मुर्दावाद, विद्यायकहरु मुर्दावाद, वीरगञ्जलाई राजधानी कायम गर’ लगायतका नारा लगाएका थिए ।
विद्यायकहरुको उदासिनताका कारण वीरगञ्जले राजधानी गुमाउनु परेको बताउँदै उनीहरुले प्रदेश सभा सदस्यहरुप्रति आक्रोश पोखेका थिए ।
प्रदर्शनमा नेविसंघका पूर्व केन्द्रिय सदस्य सुधिर पटेल, लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) पर्साका उपाध्यक्ष सुजित गिरी, अनेरास्ववियु ठाकुरराम बहुमुखी क्याम्पस इकाई कमिटी अध्यक्ष आशिफ अहमद, अखिल क्रान्तिकारी वीरगञ्ज महानगर सचिव मिरोज अहमद लगायतको उपस्थिती रहेको थियो ।