वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–१८ इनरवा मनियारीमा किराना पसलको आवरणमा लागुऔषध गाँजाको अवैध कारोबार गरिरहेका स्थानीय धर्मदेव साह कानु प्रहरी नियन्त्रणमा परेका छन्। वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापाको नेतृत्वमा गएको टोलीले आइतबार बिहान करिब ८ बजे पसलमा छापा मारी १२५ ग्राम गाँजाको पुडियासहित कानुलाई रंगेहात पक्राउ गरेको हो। तर, पक्राउ लगत्तै प्रहरीले अपनाएको फितलो कानुनी प्रक्रियाले गर्दा प्रशासनको निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठेको छ।
लागुऔषधजस्तो गम्भीर अपराधमा पक्राउ परेका व्यक्तिलाई कडा लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउनुको सट्टा प्रहरीले साधारण 'सार्वजनिक मुद्दा' दर्ता गरी अनुसन्धान अघि बढाएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। साहका छोरा नेपाल प्रहरीमै कार्यरत रहेको र श्रीमती पूर्व वडा सदस्य रहेकाले पहुँच र राजनीतिक प्रभावका आधारमा प्रहरीले उनलाई उम्काउन खोजेको स्थानीयको सीधा आरोप छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले अहिलको लागि अभद्रव्यवहारमा राखि अनुसन्धान भइरहेको साथै पछि थप लागुऔषध फेला पर्न सक्ने अनुमान गरेर यस्तो अनुसंधान गरिएको साथै पछि लागुऔषधमा कानुनी व्यवस्था अनुसार नै प्रक्रिया अगाडि बढाइएको दाबी गरे पनि सर्वसाधारण भने प्रहरीको यो तर्क मान्न तयार छैनन्। पसलबाटै पुडिया बनाएर गाँजा बिक्री भइरहेको विशेष सूचनाका आधारमा पक्राउ परेका व्यक्तिलाई परिमाणको बहाना बनाएर नरम मुद्दा चलाइनुले प्रहरी प्रशासनको नियतमाथि शंका उत्पन्न गराएको छ।
जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको बताइए पनि स्थानीयले घटनाको निष्पक्ष र पारदर्शी छानबिनको माग गरेका छन्। लागुऔषध कारोबारमा संलग्न जोसुकै भए पनि शक्तिको दुरुपयोग गरी उन्मुक्ति दिन नहुने र कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्ने स्थानीयको अडान छ।