वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१४ स्थित स्वास्थ्य कार्यालयका प्रमुख सचिदानन्द प्रसाद जयसवालमाथि सरकारी कार्यालय समयको पालना नगरेको, कर्मचारीमाथि गालीगलौज तथा धम्की दिने गरेको र कार्यालय प्रमुखको पदको धाक देखाउँदै मनपरी गर्ने गरेको गम्भीर आरोप लागेको छ।
नेपाल सरकारले तोकेको कार्यालय समयअनुसार सरकारी कर्मचारी नियमित रूपमा कार्यालयमा उपस्थित भई सेवाग्राहीलाई सेवा दिनुपर्ने भए पनि जयसवाल भने लामो समयदेखि समयमा कार्यालय नआउने गरेको कार्यालयमै कार्यरत कर्मचारीहरूको आरोप छ। जनगुनासोपछि गरिएको छड्के अनुगमनका क्रममा समेत उनी तोकिएको समयमा कार्यालयमा उपस्थित नभएको दाबी गरिएको छ।
नाम नखुलाउने सर्तमा एक कर्मचारीले जयसवाल प्रायः १२ बजेतिर कार्यालय आउने, करिब एक घण्टा बस्ने र त्यसपछि निस्कने गरेको आरोप लगाए। उनका अनुसार यो समस्या अहिलेको मात्र नभई लामो समयदेखि दोहोरिँदै आएको छ।
कर्मचारीका अनुसार जयसवालले आफू कार्यालय प्रमुख भएको धाक देखाउँदै मातहतका कर्मचारीलाई हेप्ने, गालीगलौज गर्ने तथा डर–त्रास देखाउने गरेका छन्। आफूलाई कसैले केही बिगार्न नसक्ने आशयका अभिव्यक्ति दिँदै कर्मचारीलाई दबाबमा राख्ने गरेको आरोपसमेत लागेको छ।
एक पीडित कर्मचारीले भने, “जयसवालको दादागिरी अहिलेबाट सुरु भएको होइन। उहाँले अरू कर्मचारीलाई मानिस नै नगन्ने व्यवहार गर्नुहुन्छ। पहिले त झन् १ बजेतिर कार्यालय आउने गर्नुहुन्थ्यो। उहाँको विरुद्ध आवाज उठाउने कर्मचारीलाई फसाइदिने वा सरुवा गराइदिने अवस्था थियो। म पनि उहाँबाट पीडित कर्मचारी हुँ।”
कर्मचारीहरूका अनुसार जयसवालको व्यवहारबाट आजित भएर सम्बन्धित वडा कार्यालयमा समेत पटक–पटक गुनासो तथा निवेदन परेको थियो। त्यसमध्ये एउटा निवेदनमाथि वडा अध्यक्षको पहलमा जयसवाललाई सम्बन्धित कर्मचारीसँग माफी माग्न लगाइएको दाबी गरिएको छ। तर, त्यसपछि पनि उनको व्यवहारमा सुधार नआएको कर्मचारीहरूको भनाइ छ।
यस्तै, जयसवालको व्यवहार र कार्यशैलीका कारण केही कर्मचारीले काज सरुवा गराएर अन्यत्र गएको दाबीसमेत गरिएको छ। कर्मचारीहरूले कार्यालय प्रमुखको व्यवहारका कारण कार्यालयको कार्य वातावरण नै प्रभावित भएको गुनासो गरेका छन्।
एक कर्मचारीले विगतको घटनासमेत स्मरण गर्दै जयसवालविरुद्ध आवाज उठाउने कर्मचारीलाई दबाब दिने तथा सरुवा गराउने प्रयास हुने गरेको आरोप लगाए। यसबारे तत्कालीन वडा अध्यक्ष भरत पटेलसँग समेत बुझ्न सकिने उनको दाबी छ।
तर कार्यालय प्रमुखमाथि यति गम्भीर आरोप निरन्तर उठिरहँदा सम्बन्धित निकाय मौन बस्नु आफैंमा प्रश्नको विषय बनेको छ। कार्यालय समयको हाजिरी विवरण, सीसीटीभी फुटेज, कर्मचारीले दिएका निवेदन, काज तथा सरुवाका अभिलेख र सम्बन्धित वडा कार्यालयका निर्णयहरू जाँच गरेमा वास्तविकता बाहिर आउन सक्छ।
सरकारी स्वास्थ्य कार्यालयका प्रमुखमाथि नै कार्यालय समय पालना नगरेको र कर्मचारीलाई पदको धाक देखाएर दबाबमा राखेको आरोप लाग्नुले स्वास्थ्य प्रशासनको निगरानी र जवाफदेहितामाथि समेत प्रश्न उठाएको छ।
अब सम्बन्धित निकायले आरोपको निष्पक्ष छानबिन गर्ने, सत्यतथ्य सार्वजनिक गर्ने र दोष प्रमाणित भए नियमानुसार कारबाही गर्ने हो कि विगतझैँ गुनासोलाई बेवास्ता गर्ने हो भन्ने प्रश्न गम्भीर बनेको छ।