पर्सा । भगवान् हनुमानप्रति आस्था व्यक्त गर्दै ‘हनुमान अंश’ फिल्म प्रदर्शनको अवसरमा सनातन हिन्दू मोर्चा वीरगञ्ज महानगरपालिका समितिले वीरगञ्जमा लड्डु वितरण गरेको छ।
ऋषिपञ्चमी पर्व तथा गणेश चतुर्थीको दोस्रो दिन ‘जय श्रीराम, जय सियाराम, जय हनुमान’को नारासहित वीरगञ्जको ऐतिहासिक महावीर स्थानस्थित हनुमान मन्दिरमा सामूहिक पूजापाठ गरिएको थियो। त्यसपछि मन्दिर परिसर तथा विभिन्न स्थानमा लड्डु वितरण गरिएको हो।
मोर्चाले वीरगञ्जस्थित ए–म्याक्स सिनेमा हल, बाइपास रोड, त्रिमूर्ति सिनेमा हल मुर्ली, वीरगञ्ज न्युरो अस्पतालमा रहेका कुरुवा, शक्तिपीठ श्री गहवामाई मन्दिर क्षेत्र तथा विभिन्न गणेश पूजा स्थलमा पुगेर लड्डु वितरण गरेको जनाएको छ।
सनातन हिन्दू मोर्चा वीरगञ्ज महानगर समितिका अध्यक्ष आनन्द गुप्ताको अगुवाइमा भएको कार्यक्रममा मोर्चाका केन्द्रीय अध्यक्ष सन्तोष पटेल, केन्द्रीय सदस्यहरू योगेन्द्र प्रसाद कलवार र अरविन्द कुमार मदनवाल, पर्सा जिल्ला उपाध्यक्ष अंशु कुमार प्रजापति, वीरगञ्ज नगर समितिका मन्त्री दीपक साह, कोषाध्यक्ष राजु साह तेली तथा नगर सदस्यहरू सागर साह, विकी साह, सुमित श्रीवास्तव, निरञ्जन कुशवाहा र कृष्ण मोहन वर्णवाललगायतको सहभागिता थियो।
मोर्चाले पृथ्वीमा अझै जीवित रहेको धार्मिक मान्यताअनुसार भगवान् हनुमानको सम्मान तथा सनातन धर्म–संस्कृतिलाई समेटेर निर्माण गरिएको ‘हनुमान अंश’ फिल्मको सम्पूर्ण निर्माण टोलीप्रति आभार व्यक्त गरेको छ।
कार्यक्रममा करिब ३०० पिस अर्थात् १२ किलोग्राम लड्डु वितरण गरिएको आयोजकले जनाएको छ।